Online Bible

- Reklamy -

मत्ती 27 - नेपाली नयाँ संशोधित संस्करण


यहूदा इस्‍करियोतको मृत्‍यु
लूका २३:१-५ , १३-२५ ; यूहन्‍ना १८:२८-३८

1 बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे।

2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।

3 तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो,

4 र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”

5 तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।

6 तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”

7 तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।

8 यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ।

9 तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,

10 र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।”

11 येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”

12 अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन।

13 तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?”

14 तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे।

15 निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।

16 त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना कुख्‍यात कैदी थियो।

17 जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?”

18 किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो।

19 तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”

20 तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए।

21 हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।”

22 पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।”

23 तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।”

24 तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”

25 सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।”

26 तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।


येशूको अपमान
मर्कूस १५:१६-२० ; यूहन्‍ना १९:२-३

27 तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए।

28 तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए।

29 तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”

30 तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।

31 उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।


क्रूसमा येशू
मर्कूस १५:२१-३२ ; लूका २३:२६-४३ ; यूहन्‍ना १९:१७-२७

32 जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्‍यसलाई उहाँको क्रूस बोक्‍न कर लाए।

33 जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ,

34 तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन।

35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े।

36 तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे।

37 “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।

38 उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।

39 त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे,

40 र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।”

41 मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने,

42 “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।

43 यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।”

44 अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।


येशूको मृत्‍यु
मर्कूस १५:३३-४१ ; लूका २३:४४-४९ ; यूहन्‍ना १९:२८-३०

45 अब मध्‍याह्नदेखि तीन बजेसम्‍म सारा देशमा अन्‍धकार भयो।

46 तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

47 त्‍यहाँ उभिएकाहरूमध्‍ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”

48 तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।

49 तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”

50 तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।

51 त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे।

52 चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे,

53 र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।

54 जब कप्‍तान र तिनीसँग येशूलाई रुँग्‍नेहरूले भूकम्‍प र त्‍यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्‍चै, यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।”

55 त्‍यहाँ गालीलबाट आएका धेरै स्‍त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।

56 तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्‍दियाका छोराहरूकी आमा थिए।


येशूको दफन
मर्कूस १५:४२-४७ ; लूका २३:५०-५६ ; यूहन्‍ना १९:३८-४२

57 साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्‍वयम्‌ येशूका चेला थिए।

58 तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।

59 योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे,

60 र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए।

61 चिहानको सामुन्‍ने मरियम मग्‍दलिनी र अर्की मरियम पनि बसिरहेका थिए।


चिहानमा पहरादार

62 भोलिपल्‍ट, अर्थात्‌ तयारीको दिनको भोलिपल्‍ट, मुख्‍य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,

63 र भने, “हजूर, हामीलाई याद छ, कि त्‍यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‌नेछु’ भनेको थियो।

64 यसकारण तेस्रो दिनसम्‍म त्‍यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्, नत्रता त्‍यसका चेलाहरूले आएर त्‍यो चोरेर लैजालान्, र ‘त्‍यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्‍नेछन्, र त्‍यो पछिल्‍लो धोका पहिलोभन्‍दा अझ नराम्रो हुनेछ।”

65 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्‍नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्‍म सुरक्षित राख।”

66 तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy