Online Bible

- Reklamy -

मत्ती 26 - नेपाली नयाँ संशोधित संस्करण


येशूलाई हत्‍या गर्ने षड्‌यन्‍त्र
मर्कूस १४:१-२ ; लूका २२:१-२ ; यूहन्‍ना ११:४५-५३

1 येशूले यी सबै कुरा भनिसक्‍नुभएपछि आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,

2 “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्‍तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।”

3 तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए।

4 र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे।

5 तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।”


बेथानियामा येशूलाई अत्तर घसेको
मर्कूस १४:३-९ ; यूहन्‍ना १२:१-८

6 येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुँदा,

7 एउटी स्‍त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्‍य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्‍नुहुँदा तिनले त्‍यो उहाँको शिरमा खन्‍याई।

8 यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्‍ति यत्रो नोक्‍सानी?

9 किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्‍यो पैसा गरीबहरूलाई दिन सकिन्‍थ्‍यो।”

10 तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्‍छौ? तिनले त मेरो निम्‍ति एउटा असल काम गरेकी छिन्‌।

11 किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्‍छन्‌। तर म तिमीहरूसँग सधैँ हुन्‍नँ।

12 तिनले यो अत्तर मेरो शरीरमा खन्‍याएर दफनको निम्‍ति मलाई तयार गरेकी हुन्‌।

13 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस नारीले जे गरिन्‌ त्‍यसको चर्चा तिनको सम्‍झनाको लागि गरिनेछ।”


यहूदाको विश्‍वासघात
मर्कूस १४:१०-११ ; लूका २२:३-६

14 तब बाह्रमध्‍ये एक जना यहूदा इस्‍करियोत भन्‍नेचाहिँ मुख्‍य पूजाहारीहरूकहाँ गयो,

15 र भन्‍यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्‍छ?” तिनीहरूले त्‍यसलाई चाँदीका तीस सिक्‍का दिए।

16 त्‍यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्‍न थाल्‍यो।


अन्‍तिम भोजन
मर्कूस १४:१२-२६ ; लूका २२:७-२३ ; यूहन्‍ना १३:२१-३०

17 अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज खाने प्रबन्‍ध हामी कहाँ गरौं?”

18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो बेला नजिक आएको छ। म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्‍तार-चाड मान्‍नेछु’।”

19 तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्‍तार-चाड़को प्रबन्‍ध मिलाए।

20 साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो।

21 उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।”

22 तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?”

23 अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ।

24 मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।”

25 तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।”

26 तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”

27 तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।

28 किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।

29 तर म तिमीहरूलाई भन्‍दछु, कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”

30 एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्‍केर जानुभयो।


पत्रुसको इन्‍कार
मर्कूस १४:२७-३१ ; लूका २२:३१-३४ ; यूहन्‍ना १३:३६-३८

31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’

32 तर म मृत्‍युबाट जीवित भएपछि तिमीहरूभन्‍दा अगि गालीलमा जानेछु।”

33 पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।”

34 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, आजै राती भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।”

35 पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्‍यसै भने।


गेतसमनीमा येशू
मर्कूस १४:३२-४२ ; लूका २२:३९-४६

36 तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।”

37 र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो।

38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”

39 अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।”

40 तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्‍टा पनि जागा बस्‍न सकेनौ?

41 जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”

42 फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।”

43 उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।

44 यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो।

45 तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ।

46 उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”


येशूको गिरफ्‍तारी
मर्कूस १४:४३-५० ; लूका २२:४७-५३ ; यूहन्‍ना १८:३-१२

47 उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।

48 उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्‍वाइँ खान्‍छु, तिनी नै हुन्, तिनैलाई समात।”

49 तुरुन्‍तै येशूकहाँ गएर त्‍यसले भन्‍यो, “हे गुरु, प्रणाम!” र त्‍यसले उहाँलाई म्‍वाइँ खायो।

50 येशूले त्‍यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्‍यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्‍तारी गरे।

51 येशूको साथमा हुनेहरूमध्‍ये एउटाले हात बढ़ाएर आफ्‍नो तरवार झिक्‍यो, र मुख्‍य पूजाहारीको दासलाई प्रहार गर्‍यो, र त्‍यसको कान छिनाइदियो।

52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।

53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?

54 तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”

55 त्‍यसै बेला येशूले भीड़लाई भन्‍नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्‍दिरमा शिक्षा दिँदै बस्‍थें, र तिमीहरूले मलाई पक्रेनौ।

56 तर अगमवक्ताहरूका धर्मशास्‍त्रहरू पूरा होऊन्‌ भनी यी सबै हुन आएका हुन्‌।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।


महासभाको सामुन्‍ने येशू
मर्कूस १४:५३-६५ ; लूका २२:५४-५५ , ६२-७१ ; यूहन्‍ना १८:१३-१४ , १९-२४

57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्‍यहाँ शास्‍त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए।

58 तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्‍मै उहाँको पछिपछि लागे, र अन्‍त्‍यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।

59 अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मृत्‍युदण्‍ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्‍न लागे।

60 धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्‌। आखिरमा दुई जना अगि आए,

61 र भने, “यस मानिसले ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्‍छु’ भन्‍यो।”

62 तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”

63 तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?”

64 येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।”

65 तब प्रधान पूजाहारीले आफ्‍ना वस्‍त्र च्‍याते र भने, “यसले त ईश्‍वर-निन्‍दा बोल्‍यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्‍यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्‍वर-निन्‍दा सुनिहाल्‍नुभयो।

66 तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्‍डको योग्‍य छ।”

67 तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्‍का लगाए, र कसै-कसैले यसो भन्‍दै थप्‍पड़ लाए,

68 “हे ख्रीष्‍ट, लौ, अगमवाणी भन्‌! तँलाई हिर्काउने को हो?”


पत्रुसको इन्‍कार
मर्कूस १४:६६-७२ ; लूका २२:५६-६२ ; यूहन्‍ना १८:१५-१८ , २५-२७

69 पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?”

70 तर तिनले उनीहरू सबैका सामुन्‍ने इन्‍कार गरेर भने, “तैंले के भन्‍दैछस्, म जान्‍दिनँ।”

71 तिनी बाहिर दलानमा निस्‍केपछि अर्कीले तिनलाई देखी, र त्‍यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”

72 तिनले फेरि शपथ खाएर इन्‍कार गरे, “म ती मानिसलाई चिन्‍दिनँ।”

73 अलि बेरपछि त्‍यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्‍चै, तिमी पनि तिनीहरूमध्‍येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”

74 तब पत्रुसले आफैलाई सराप्‍दै शपथ खान लागे “म ती मानिसलाई चिन्‍दैचिन्‍दिनँ।” अनि तुरुन्‍तै भाले बास्‍यो।

75 तब पत्रुसलाई येशूले भन्‍नुभएको यो कुरा याद भयो, “भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy