Online Bible

- Reklamy -

मत्ती 25 - नेपाली नयाँ संशोधित संस्करण


दश कन्‍याको दृष्‍टान्‍त

1 “तब स्‍वर्गको राज्‍य दश कन्‍याहरूसँग तुलना गर्न सकिन्‍छ। तिनीहरूले आ-आफ्‍नो बत्ती लिएर दुलहालाई भेट्‌न निस्‍के।

2 तीमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।

3 किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌।

4 तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।

5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।

6 “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।

7 “तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे।

8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’

9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’

10 “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।

11 “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’

12 “तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’

13 “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।


सुनका सिक्‍काको दृष्‍टान्‍त
लूका १९:११-२७

14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।

15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।

16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।

17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।

18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।

19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।

20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’

21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’

22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’

23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’

24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।

25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’

26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,

27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।

28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।

29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’


न्‍यायको दिन

31 “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ।

32 र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।

33 उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ।

34 “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।

35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।

36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’

37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?

38 कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?

39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’

40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।

42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।

43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’

44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’

45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’

46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy