मत्ती 21 - नेपाली नयाँ संशोधित संस्करणयरूशलेममा येशूको विजय-प्रवेश मर्कूस ११:१-११ ; लूका १९:२८-४० ; यूहन्ना १२:१२-१९ 1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 2 “तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्याओ। 3 कसैले तिमीहरूलाई केही भन्यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्नू र त्यसले तुरुन्तै ती पठाइदिनेछ।” 4 अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो, 5 “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।” 6 तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। 7 तिनीहरूले गधा र त्यसको बच्चा ल्याए, र तीमाथि आफ्ना लुगाफाटा ओछ्याए, र उहाँ त्यसमाथि बस्नुभयो। 8 भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। 9 उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’ 10 जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” 11 भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।” येशू मन्दिरमा मर्कूस ११:१५-१९ ; लूका १९:४५-४८ ; यूहन्ना २:१३-२२ 12 येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। 13 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” 14 अन्धा र लङ्गड़ाहरू मन्दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। 15 तर जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे, र केटाकेटीहरूले मन्दिरमा “दाऊदका पुत्रलाई होसन्ना” भन्दै चिच्च्याएका सुने, तब तिनीहरू क्रोधित भए, 16 र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” 17 तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ वास बस्नुभयो। अञ्जीरको बोट मर्कूस ११:१२-१४ , २०-२४ 18 बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। 19 बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो। 20 यो देखेर चेलाहरूले अचम्म मानेर भने, “यो अञ्जीरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?” 21 येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने, अञ्जीरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्यौ भने सो हुनेछ। 22 विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।” येशूको अधिकारमा शङ्का मर्कूस ११:२७-३३ ; लूका २०:१-८ 23 उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” 24 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई त्यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। 25 यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे, “स्वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भन्नेछन्। 26 तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्।” 27 यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।” दुई छोराको दृष्टान्त 28 “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ 29 त्यसले जवाफ दियो, ‘म जान्नँ।’ तर पछिबाट पछुताएर गयो। 30 “दोस्राकहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, ‘म जान्छु।’ तर गएन। 31 “अब यी दुईमा कुनचाहिँले बाबुको इच्छा पालन गर्यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। 32 किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेनौ, अनि उनीमाथि विश्वास गरेनौ।” मोहीहरूको दृष्टान्त मर्कूस १२:१-१२ ; लूका २०:९-१९ 33 “अर्को दृष्टान्त सुन। कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। 34 जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। 35 “तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने। 36 फेरि उनले अघिको भन्दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। 37 ‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए। 38 “तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’ 39 तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। 40 “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।” 42 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’ 43 “यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउँछ। 44 यस ढुङ्गामाथि खस्नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ, यसले त्यसलाई किच्नेछ।” 45 जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। 46 तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society