मत्ती 20 - नेपाली नयाँ संशोधित संस्करणदाखबारीका खेतालाहरू 1 “स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। 2 खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। 3 “जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, 4 र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ 5 अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो। 6 उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ 7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ 8 “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’ 9 “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। 10 जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। 11 ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। 12 तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’ 13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ? 14 तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु। 15 मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? 16 “यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।” आफ्नो मृत्युबारे येशूको तेस्रो भविष्यवाणी मर्कूस १०:३२-३४ ; लूका १८:३१-३४ 17 यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्ग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो, 18 “हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्। 19 उसलाई गिल्ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्न भनी तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” आमाको बिन्ती मर्कूस १०:३५-४५ 20 तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँड़ा टेकी उहाँसँग बिन्ती गरिन्। 21 उहाँले तिनलाई सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।” 22 तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” तिनीहरूले भने, “सक्छौं।” 23 उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” 24 यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। 26 तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। 27 जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, 28 जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।” दुई अन्धा मानिस मर्कूस १०:४६-५२ ; लूका १८:३५-४३ 29 उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो। 30 बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” 31 भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” 32 तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?” 33 तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।” 34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society