Online Bible

- Reklamy -

मत्ती 16 - नेपाली नयाँ संशोधित संस्करण


ईश्‍वरीय चिन्‍हको माग
मर्कूस ८:११-१३ ; लूका १२:५४-५६

1 फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्‍वर्गबाट एउटा चिन्‍ह देखाइदिने उहाँसँग माग राखे।

2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्‍छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’

3 बिहानचाहिँ भन्‍छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्‍था हेरेर दिन कस्‍तो हुन्‍छ छुट्ट्याउन जान्‍दछौ, तर समयका चिन्‍हको अर्थ खोल्‍न सक्‍दैनौ।

4 दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक अरू चिन्‍ह त्‍यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।


फरिसी र सदुकीहरूको खमिर
मर्कूस ८:१४-२१

5 चेलाहरू पारिपट्टि आइपुग्‍दा तिनीहरूले रोटी ल्‍याउन बिर्सेछन्‌।

6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”

7 तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।”

8 येशूले यो थाहा पाएर भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ?

9 के तिमीहरू अझै बुझ्‍दैनौ? पाँच हजारका निम्‍ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ?

10 अनि चार हजारका निम्‍ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ?

11 मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्‍दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”

12 तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ।


पत्रुसको स्‍वीकार
मर्कूस ८:२७-३० ; लूका ९:१८-२१

13 येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?”

14 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।”

15 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?”

16 सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।”

17 येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।

18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

19 म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।”

20 उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।


आफ्‍नो मृत्‍युबारे येशूको पहिलो भविष्‍यवाणी
मर्कूस ८:३१—९:१ ; लूका ९:२२-२७

21 उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो।

22 पत्रुसले उहाँलाई एकातिर लगेर हप्‍काउन लागे, “परमेश्‍वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्‍तो कहिल्‍यै हुनेछैन।”

23 तर फर्केर उहाँले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्‌। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्‍यान दिन्‍छस्‌।”

24 तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌।

25 किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ।

26 सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?

27 किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ।

28 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खड़ा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy