मत्ती 15 - नेपाली नयाँ संशोधित संस्करणशुद्ध र अशुद्ध मर्कूस ७:१-१३ 1 यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए, र भने, 2 “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।” 3 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्ग गर्दछौ? 4 किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ। 5 तर तिमीहरूचाहिँ भन्दछौ, जसले आफ्ना बुबा वा आमालाई भन्छ, ‘तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो, सो परमेश्वरलाई चढ़ाइएको छ,’ त्यसले आफ्ना बाबुको आदर गर्नुपर्दैन। 6 यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। 7 ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, 8 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। 9 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।” 10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सुन र बुझ। 11 जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।” 12 यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्?” 13 तर उहाँले भन्नुभयो, “स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ। 14 तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने, ती दुवै खाल्डोमा पर्नेछन्।” 15 पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।” 16 उहाँले भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? 17 के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ, र बाहिर निस्किहाल्छ? 18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। 19 किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। 20 यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।” कनानी स्त्रीको विश्वास मर्कूस ७:२४-३० 21 तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो। 22 त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।” 23 येशूले त्यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहिछे।” 24 उहाँले भन्नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्ति मात्र पठाइएको हुँ।” 25 तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।” 26 उहाँले भन्नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।” 27 त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।” 28 तब येशूले त्यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले इच्छा गरेबमोजिम तिमीलाई होस्।” त्यसकी छोरी त्यही घड़ी निको भइहाली। येशूले चार हजारलाई खुवाउनुभएको मर्कूस ८:१-१० 29 येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो। 30 तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो, 31 यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे। 32 तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्।” 33 चेलाहरूले उहाँलाई भने, “यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने? 34 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्।” 35 उहाँले भीड़लाई भूइँमा बस्ने आज्ञा दिनुभयो। 36 उहाँले ती सात रोटी र माछा लिएर धन्यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए। 37 तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। 38 स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए। 39 तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्नुभयो, र मगादानको इलाकातिर जानुभयो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society