मत्ती 12 - नेपाली नयाँ संशोधित संस्करणशबाथका प्रभु मर्कूस २:२३-२८ ; ३:१-६ ; लूका ६:१-११ 1 त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे। 2 तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।” 3 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ? 4 कसरी उनले परमेश्वरको भवनभित्र पसेर चढ़ाइएको रोटी खाएथे? त्यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई, तर केवल पूजाहारीहरूलाई मात्र उचित थियो। 5 अथवा के व्यवस्थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्दिरमा शबाथलाई अपवित्र तुल्याउँछन्, र पनि निर्दोषी ठहरिन्छन्? 6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् कोही यहाँ छ। 7 तर ‘म बलिदान होइन, दया चाहन्छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ। 8 किनकि मानिसको पुत्र शबाथको प्रभु हो।” 9 त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। 10 त्यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?” 11 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्यो खाल्डोमा पर्यो भने, के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? 12 भेड़ाभन्दा मानिस कति बढ़ी मूल्यवान् छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।” 13 तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो, र त्यो हात अर्को जस्तै सद्दे भइगयो। 14 तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। परमेश्वरले चुन्नुभएको सेवक 15 तब त्यो कुरा थाहा पाएर येशू त्यहाँबाट गइहाल्नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो, 16 र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो। 17 यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो, 18 “मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्यायको घोषणा गरिदिनेछन्। 19 तिनी न त झगड़ा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्, न त कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ। 20 फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्। 21 तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्नेछन्।” येशू र बालजिबुल मर्कूस ३:२०-३० ; लूका ६:४३-४५ ; ११:१४-२३ 22 तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। 23 अनि सबै भीड़ले अचम्म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?” 24 तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” 25 तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? 27 यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। 28 तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। 29 “पहिले बलियो मानिसलाई नबाँधिकन, त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। 30 “जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। 31 त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। 32 कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। 33 “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। 34 ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। 35 असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। 36 म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ 37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” चिन्ह हेर्ने इच्छा मर्कूस ८:११-१२ ; लूका ११:२९-३२ 38 तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।” 39 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। 40 किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। 41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। 42 दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ। 43 “जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन। 44 तब त्यसले भन्छ, ‘जहाँबाट म निस्केर आएँ, त्यहीँ आफ्नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। 45 तब त्यो जान्छ र आफूभन्दा बढ़ी दुष्ट अरू सात वटा भूतात्मा आफूसँग ल्याउँछ, र भित्र पसेर तिनीहरू त्यहाँ वास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।” येशूका आमा र भाइहरू मर्कूस ३:३१-३५ ; लूका ८:१९-२१ 46 येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्थे। 47 तब एक जनाले येशूलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन्।” 48 तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” 49 अनि उहाँले आफ्नो हातले चेलाहरूलाई देखाउँदै भन्नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू। 50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society