मत्ती 11 - नेपाली नयाँ संशोधित संस्करणयेशू र बप्तिस्मा-दिने यूहन्ना लूका ७:१८-३५ 1 आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो। 2 यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए, 3 “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?” 4 येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, 5 अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। 6 धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।” 7 अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीड़लाई भन्न लाग्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? 8 तब तिमीहरू किन निस्क्यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्। 9 तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई। 10 यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’ 11 साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो। 12 बप्तिस्मा-दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन्। 13 किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे। 14 तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्। 15 जसको सुन्ने कान छ, त्यसले सुनोस्। 16 “अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्, 17 ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्यौं, तर तिमीहरूले अफसोस गरेनौ।’ 18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। 19 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।” पश्चात्ताप नगर्ने सहरहरू लूका १०:१३-१५ 20 जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। 21 “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। 22 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। 23 ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। 24 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” थकितहरूलाई विश्राम लूका १०:२१-२२ 25 त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। 26 हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। 27 “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। 28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। 29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। 30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society