मलाकीको पुस्तक 4 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुको दिन 1 “हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन। 2 तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ। 3 तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 4 “मेरो दास मोशाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिएँ। 5 “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। 6 त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society