Online Bible

- Reklamy -

लूकाको सुसमाचार 7 - नेपाली नयाँ संशोधित संस्करण


कप्‍तानको विश्‍वास
मत्ती ८:५-१३

1 आफ्‍ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो।

2 कुनै एक जना कप्‍तानको एक जना प्‍यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो।

3 जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस्‌ भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्‍ती गर्न पठाए।

4 तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्‍ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्‍यका छन्,

5 किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्‌।”

6 येशू तिनीहरूसाथ जानुभयो। कप्‍तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्‍तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ,

7 मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्‍यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ।

8 किनकि म पनि अख्‍तियारमुनि बस्‍ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एउटालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यो गर्‌’ भन्‍छु, अनि त्‍यसले गर्छ।”

9 यो कुरा सुनेर येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, मैले इस्राएलमा पनि यस्‍तो ठूलो विश्‍वास देखेको छैनँ।”

10 जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्‍यस कमारालाई निको भएको भेट्टाए।


विधवाको छोरो जीवित पारिएको

11 भोलिपल्‍ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।

12 जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।

13 जब प्रभुले तिनलाई देख्‍नुभयो, तब तिनलाई टिठ्याएर भन्‍नुभयो, “नरोऊ।”

14 अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।”

15 तब मृत मानिस उठेर बस्‍यो, र बोल्‍न लाग्‍यो। येशूले त्‍यसलाई आमाको जिम्‍मा लगाउनुभयो।

16 तब सबै भयभीत भए, र परमेश्‍वरको महिमा गरे, र भने, “एक जना महान्‌ अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्‍वरले आफ्‍नो प्रजामाथि कृपा गर्नुभएको छ।”

17 उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्‍त जिल्‍लाहरूमा फिँजियो।


बप्‍तिस्‍मा-दिने यूहन्‍नाको प्रश्‍न
मत्ती ११:२-१९

18 यूहन्‍नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए।

19 आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यूहन्‍नाले प्रभुकहाँ यो सोध्‍न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”

20 जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”

21 त्‍यसै बेला येशूले धेरैलाई रोग, व्‍यथा र दुष्‍टात्‍माहरूबाट छुटाउनुभयो, र धेरै अन्‍धाहरूलाई दृष्‍टि प्रदान गर्नुभयो।

22 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।

23 त्‍यो धन्‍य हो, जसले ममा बाधाको कारण पाउँदैन।”

24 यूहन्‍नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्‍नाको बारेमा भीड़लाई भन्‍न लाग्‍नुभयो: “तिमीहरू उजाड-स्‍थानमा के हेर्न गयौ? के बतासले हल्‍लाइराखेको निगालोलाई?

25 तब तिमीहरू के हेर्न निस्‍क्‍यौ? के असल वस्‍त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्‍त्र पहिरिने र विलासितामा बस्‍नेहरू त राजदरबारहरूमा हुन्‍छन्‌।

26 तर तिमीहरू के हेर्न निस्‍क्‍यौ? के अगमवक्तालाई? हो, म भन्‍दछु, तिमीहरूले अगमवक्ताभन्‍दा पनि श्रेष्‍ठलाई देख्‍यौ।

27 यी तिनै हुन्, जसका विषयमा लेखिएको छ, ‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’

28 म तिमीहरूलाई भन्‍दछु, ‘स्‍त्रीहरूबाट जन्‍मेकामध्‍ये यूहन्‍नाभन्‍दा महान्‌ कोही छैन, तापनि जो परमेश्‍वरको राज्‍यमा सानोभन्‍दा सानो छ, त्‍यो तिनीभन्‍दा अझ महान्‌ हुन्‍छ’।”

29 अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्‍वरको सत्‍यतालाई स्‍वीकार गरे, किनकि तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए।

30 तर फरिसीहरू र व्‍यवस्‍थाका पण्‍डितहरूले चाहिँ यूहन्‍नाबाट बप्‍तिस्‍मा नलिएको कारणले, परमेश्‍वरको अभिप्रायलाई आफ्‍नो निम्‍ति अस्‍वीकार गरे।

31 येशूले भन्‍नुभयो, “यस पुस्‍ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्‍ता छन्‌?

32 तिनीहरू त बजारमा बस्‍ने बालकहरूजस्‍ता छन्, जसले एक-अर्कालाई यसो भन्‍दै हपार्दछन्, ‘हामीले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीले बिलौना गर्‍यौं, र तिमीहरू रोएनौ।’

33 बप्‍तिस्‍मा-दिने यूहन्‍ना आए, अनि तिनले न त रोटी खान्‍थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्‍दछौ।

34 मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्‍दछौ, ‘हेर, एउटा घिचुवा र पियक्‍कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’

35 बुद्धि ठीक हो भन्‍ने कुरा बुद्धिअनुसार हिँड्‌नेहरूले नै प्रमाणित गर्छन्‌।


पापी स्‍त्रीलाई क्षमा

36 फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो।

37 त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई,

38 र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी।

39 उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।”

40 येशूले त्‍यस फरिसीलाई भन्‍नुभयो, “ए सिमोन, तिमीलाई केही भन्‍नु छ।” तिनले भने, “गुरुज्‍यू, भन्‍नुहोस्‌।”

41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।

42 तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्‍ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”

43 सिमोनले भने, “म ठान्‍छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”

44 अनि त्‍यस स्‍त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्‍त्रीलाई देख्‍तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्‍ना केशले पुछी।

45 तिमीले मलाई चुम्‍बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्‍बन गर्न छोड़ेकी छैन।

46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।

47 यसकारण म तिमीलाई भन्‍दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्‍त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्‍छ, त्‍यसले थोरै प्रेम गर्दछ।”

48 अनि उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पाप क्षमा भएका छन्‌।”

49 खान बस्‍नेहरूले आपसमा भन्‍न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्‌?”

50 उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्‍तिसाथ जाऊ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy