Online Bible

- Reklamy -

लूकाको सुसमाचार 6 - नेपाली नयाँ संशोधित संस्करण


शबाथको प्रभु
मत्ती १२:१-१४ ; मर्कूस २:२३-२८ ; ३:१-६

1 शबाथ-दिनमा उहाँ अन्‍नको खेतबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्‌दै खान लागे।

2 तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्‍यो तिमीहरू किन गर्दछौ?”

3 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे?

4 कसरी परमेश्‍वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।”

5 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।”

6 अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्‍यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो।

7 उहाँले शबाथमा निको पार्ने काम गरेको खण्‍डमा उहाँलाई दोष लगाउने नियतले शास्‍त्री र फरिसीहरू उहाँको चेवामा थिए।

8 तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्‍यो उठ्यो, र खड़ा भयो।

9 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्‍छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”

10 अनि उहाँले सबैलाई चारैतिर हेरेर त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले त्‍यसै गर्‍यो, र त्‍यसको हात सद्दे भइहाल्‍यो।

11 तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।


बाह्र प्रेरितहरू
मत्ती १०:१-४ ; मर्कूस ३:१३-१९

12 ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।

13 बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो:

14 सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ,

15 मत्ती र थोमा, अल्‍फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्‍थी भनिन्‍थे,

16 याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत, जो विश्‍वासघाती भए।


आशिष्‌ र श्राप
मत्ती ५:३-१२

17 उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्‍गामा खड़ा हुनुभयो। उहाँका शिष्‍यहरूको एउटा ठूलो भीड, र समस्‍त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड

18 उहाँका वचन सुन्‍नलाई र आ-आफ्‍ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्‍माहरूबाट पीडितहरू पनि निको भए।

19 सारा भीड़ले उहाँलाई छुन खोज्‍दथियो, किनकि शक्ति उहाँबाट निस्‍किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।

20 तब उहाँले आफ्‍ना चेलाहरूमाथि नजर उचालेर भन्‍नुभयो: “धन्‍य तिमी, दीन हुनेहरू, किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।

21 धन्‍य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्‍त हुनेछौ। धन्‍य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्‍नेछौ।

22 धन्‍य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्‍कार गर्नेछन्, र गिल्‍ला गर्नेछन्, र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्‌।

23 “त्‍यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्‍यसै गरेथे।

24 “तर धिक्‍कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्‍नो सुख-चैन पाइसकेका छौ।

25 धिक्‍कार, तिमी अहिले तृप्‍त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्‍कार, तिमी अहिले हाँस्‍नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ।

26 धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।


शत्रुप्रति प्रेम
मत्ती ५:३८-४२

27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

28 सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर।

29 तिमीलाई एक गालामा चड्‌काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्‍टो खोस्‍नेलाई तिम्रो दौरा पनि लान देओ।

30 तिमीसित माग्‍ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।

31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

32 “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्‌।

33 तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्‍यसै गर्दछन्‌।

34 यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्‍छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्‍छन्‌।

35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ।

36 तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।


अरूलाई दोषी नठहराउनू
मत्ती ७:१-५

37 “अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।

38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

39 अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र?

40 चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ।

41 “आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?

42 तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।


रूख र त्‍यसको फल

43 “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।

44 हरेक रूख त्‍यसको फलैबाट चिनिन्‍छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्‍जीर बटुल्‍दैन, न त पोथ्राबाट अंगूर बटुल्‍दछ।

45 असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।


दुई घरको दृष्‍टान्‍त
मत्ती ७:२४-२७

46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?

47 जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।

48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।

49 तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy