Online Bible

- Reklamy -

लूकाको सुसमाचार 3 - नेपाली नयाँ संशोधित संस्करण


बप्‍तिस्‍मा-दिने यूहन्‍ना
मत्ती ३:१-१२ ; मर्कूस १:१-८ ; यूहन्‍ना १:१९-२८

1 कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए।

2 हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।

3 तिनी पाप-क्षमाको निम्‍ति पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए।

4 यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।

5 हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्,

6 र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।”

7 यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो?

8 यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्‍नपछि नलाग, किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।

9 अहिले बन्‍चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”

10 मानिसहरूले यूहन्‍नालाई सोधे, “त्‍यसो भए हामीले के गर्ने?”

11 तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्‍यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्‍यसले पनि त्‍यसै गरोस्‌।”

12 कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्‍यू, हामीले के गर्ने?”

13 तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।”

14 सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।”

15 जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्‍ना मनमा यूहन्‍नाको विषयमा शायद यिनी नै ख्रीष्‍ट हुन्‌ कि भनी विचार गरिरहेका थिए,

16 तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।

17 निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

18 यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।

19 तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए।

20 यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे।


येशूको बप्‍तिस्‍मा
मत्ती ३:१३-१७ ; मर्कूस १:९-११

21 जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो,

22 र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”


येशूको वंशावली
मत्ती १:१-१७

23 येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए,

24 एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्‍कीका छोरा, मल्‍की यान्‍नाका छोरा, यान्‍ना योसेफका छोरा,

25 योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा,

26 नग्‍गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,

27 योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,

28 नेरी मल्‍कीका छोरा, मल्‍की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्‌का छोरा,

29 एर्‌ यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,

30 लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्‍याकीमका छोरा,

31 एल्‍याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा,

32 दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा,

33 नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,

34 यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,

36 शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा,

37 लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,

38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्‍वरका छोरा थिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy