लूकाको सुसमाचार 23 - नेपाली नयाँ संशोधित संस्करणपिलातस र हेरोदको सामुन्ने येशू मत्ती २७:११-२६ ; मर्कूस १५:१-१५ ; यूहन्ना १८:२८-४० ; १९:१-१६ 1 सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए। 2 तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ।” 3 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” 4 तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” 5 तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।” 6 तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे। 7 अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए। 8 अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। 9 तिनले उहाँलाई धेरै प्रश्न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। 10 मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे। 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए। 12 त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो। 13 तब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्मा गरे। 14 उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ। 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्। 16 यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” [ 17 चाड़को उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो।] 18 तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्।” 19 बारब्बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। 20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए। 21 तर तिनीहरू यसो भन्दै चिच्च्याइरहे, ‘क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्।” 22 अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन् र? मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” 23 तर तिनीहरूले ठूलो सोरले कराउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भन्ने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो। 24 अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए। 25 तिनले त्यस मानिसलाई छोडिदिए, जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो। त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्छामा सुम्पिदिए। येशूलाई क्रूसमा टाँगेको मत्ती २७:३२-४४ ; मर्कूस १५:२१-३२ ; यूहन्ना १९:१७-२७ 26 तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए। 27 मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। 28 तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। 29 किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’ 30 तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्नेछन्। 31 किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने, सुक्खा हुँदा के गर्लान्?” 32 अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। 33 जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। 34 अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। 35 मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।” 36 सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, 37 “तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।” 38 “यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो। 39 क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” 40 तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्? 41 हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।” 42 तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” 43 उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” येशूको मृत्यु मत्ती २७:४५-५६ ; मर्कूस १५:३३-४१ ; यूहन्ना १९:२८-३० 44 प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। 45 सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो। 46 उच्च सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। 47 यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” 48 यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्ना छाती पिट्दै घर फर्के। 49 तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे। येशूको दफन-कार्य मत्ती २७:५७-६१ ; मर्कूस १५:४२-४७ ; यूहन्ना १९:३८-४२ 50 योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। 51 उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दैथिए। 52 उनले पिलातसकहाँ गएर येशूको लाश मागे, 53 उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्यै कोही राखिएको थिएन। 54 त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो। 55 गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे। 56 तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society