लूकाको सुसमाचार 21 - नेपाली नयाँ संशोधित संस्करणविधवाको भेटी मर्कूस १२:४१-४४ 1 उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्ना भेटी मन्दिरको दानपात्रमा राखेका देख्नुभयो। 2 उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो। 3 तब उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ी चढ़ाएकी छे। 4 किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।” अन्त्यका दिनका चिन्हहरू मत्ती २४:१-४१ ; मर्कूस १३:१-३१ 5 अब कोही-कोहीले सुन्दर-सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरूले सुसज्जित पारिएका मन्दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्नुभयो, 6 “तिमीहरूले जे देखिरहेका छौ, यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्मै भत्किनेछन्।” 7 तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?” 8 उहाँले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्छन्। तिनीहरूका पछि तिमीहरू नलाग। 9 तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।” 10 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ। 11 भयङ्कर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्। 12 “तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन्, र झ्यालखानमा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्ने पुर्याउनेछन्। 13 तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ। 14 यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्नेछैनौं भनी आफ्ना मनमा पक्का गर। 15 किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्नेछैनन्, अनि खण्डन गर्न पनि सक्नेछैनन्। 16 तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्। 17 मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्। 18 तर तिमीहरूका शिरको एउटा केश पनि नष्ट हुनेछैन। 19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। 20 “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। 21 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून्। 22 किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्। 23 ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ। 24 तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्। अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्। 25 “सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू सङ्कष्टमा परी व्याकुल हुनेछन्। 26 संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। 27 त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। 28 जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।” 29 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र सबै रूखहरूलाई हेर, 30 तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ। 31 त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। 32 “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। 33 आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्। 34 “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला। 35 किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ। 36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” 37 येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो। 38 उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society