Online Bible

- Reklamy -

लूकाको सुसमाचार 20 - नेपाली नयाँ संशोधित संस्करण


येशूको अधिकारबारे प्रश्‍न
मत्ती २१:२३-२७ ; मर्कूस ११:२७-३३

1 एक दिन मन्‍दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँकहाँ आए,

2 र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?”

3 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍छु, मलाई उत्तर देओ।

4 यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट थियो, कि मानिसबाट?”

5 तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर तिनले भन्‍नेछन्‌।

6 ‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनकि यूहन्‍ना अगमवक्ता हुन्‌ भन्‍ने तिनीहरूको पक्‍का विश्‍वास छ।”

7 यसकारण तिनीहरूले जवाफ दिए, “हामी जान्‍दैनौं, कहाँबाट आएको हो।”

8 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”


मोहीहरूको दृष्‍टान्‍त
मत्ती २१:३३-४६ ; मर्कूस १२:१-१२

9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए।

10 फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्‍नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्‍यसलाई पिटेर रित्तै पठाइदिए।

11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटी बेइज्‍जत गरेर रित्तै पठाइदिए।

12 तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए।

13 “अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्‍नो प्‍यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्‌।’

14 “तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्‍पत्तिको हक हाम्रो हुनेछ।’

15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌?

16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।” मानिसहरूले यो सुनेर भने, “यस्‍तो कहिले नहोस्‌।”

17 तर उहाँले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो।’

18 त्‍यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्‍यो खस्‍छ त्‍यसले त्‍यसलाई धूलोपीठो पार्नेछ।”

19 तब शास्‍त्रीहरू र मुख्‍य पूजाहारीहरूले त्‍यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।


कैसरलाई तिर्ने कर
मत्ती २२:१५-२२ ; मर्कूस १२:१३-१७

20 तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्‍ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्‍नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्‍पिदिने दाउमा तिनीहरू थिए।

21 तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं ठीक बोल्‍नुहुन्‍छ र ठीक सिकाउनुहुन्‍छ, र कसैको पक्षपात गर्नुहुन्‍न, तर सत्‍यतासाथ परमेश्‍वरको मार्ग सिकाउनुहुन्‍छ।

22 हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”

23 तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्‍नुभयो,

24 “मलाई एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।”

25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्‌ कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”

26 मानिसहरूका सामुन्‍ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।


पुनरुत्‍थान र विवाह
मत्ती २२:२३-३३ ; मर्कूस १२:१८-२७

27 त्‍यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्‍थान हुँदैन भन्‍ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे,

28 “गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्‍तान मर्‍यो भने, भाइचाहिँले त्‍यसकी पत्‍नीलाई विवाह गरी दाज्‍यूको सन्‍तान खड़ा गरिदिनुपर्छ।

29 सात भाइ थिए। जेठोले एउटी पत्‍नी ल्‍याएर निस्सन्‍तान मर्‍यो,

30 र माहिलोले

31 र साहिँलोले त्‍यसलाई विवाह गरे र त्‍यसै गरी ती सातै जना निस्सन्‍तान मरे।

32 पछिबाट त्‍यो स्‍त्री पनि मरी।

33 यसकारण मृतकबाट पुनरुत्‍थान हुँदा त्‍यो स्‍त्री तिनीहरूमध्‍ये कसकी पत्‍नी हुन्‍छे? किनकि त्‍यो सातै जनाकी पत्‍नी भएकी थिई।”

34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्‍छन्‌।

35 तर त्‍यस युगसम्‍म पुग्‍न योग्‍य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्‌न योग्‍य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्‍छन्‌।

36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्‍थानका सन्‍तान भएका हुनाले परमेश्‍वरका सन्‍तान हुन्‌।

37 तर मृतकहरू जीवित भई उठ्‌नेछन्‌ भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए।

38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, किनकि सबै उहाँकै निम्‍ति जीवित छन्‌।”

39 अनि शास्‍त्रीहरूमध्‍ये कुनै-कुनैले भने, “गुरुज्‍यू, तपाईंले असलै भन्‍नुभयो।”

40 त्‍यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्‍न सोध्‍ने आँट गरेन।


ख्रीष्‍ट कसका पुत्र?
मत्ती २२:४१-४६ ; २३:१-७ ; मर्कूस १२:३५-४०

41 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन्‌ भनी तिनीहरू कसरी भन्‍दछन्‌?

42 किनकि भजनको पुस्‍तकमा दाऊद आफै भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस,

43 जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ’।”

44 यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्‍दछन्‌ भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?”

45 अनि सबै मानिसहरूले सुन्‍दैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,

46 “लामो पोशाक पहिरेर यताउति हिँड्‌ने, र बजारमा अभिवादन खोज्‍ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्‍थान रुचाउने शास्‍त्रीहरूदेखि होशियार रहो।

47 तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्‌। यिनीहरूले नै बढ़ी दण्‍ड पाउनेछन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy