Online Bible

- Reklamy -

लूकाको सुसमाचार 2 - नेपाली नयाँ संशोधित संस्करण


येशूको जन्‍म

1 ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे।

2 कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो।

3 सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए।

4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए।

5 नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।

6 तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो।

7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।


गोठालाहरू र स्‍वर्गदूतहरू

8 त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे।

9 प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए।

10 तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ।

11 आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

12 तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”

13 तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,

14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”

15 जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”

16 तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए।

17 जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए।

18 गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।

19 तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌।

20 जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के।


मन्‍दिरमा येशूको अर्पण

21 आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्‍वर्गदूतले दिएका थिए।

22 मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,

23 जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, “पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइनेछ।”

24 अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए।

25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो।

26 “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।

27 उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,

28 तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने,


शिमियोनको स्‍तुतिगान

29 “अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌।

30 किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,

31 जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ,

32 अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”

33 अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे।

34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ,

35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।”

36 आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।

37 अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌।

38 त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।

39 जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के।

40 बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।


मन्‍दिरमा बालक येशू

41 उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे।

42 जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो।

43 चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌।

44 उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,

45 तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के।

46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए।

47 सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे।

48 उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”

49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”

50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌।

51 तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌

52 अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy