Online Bible

- Reklamy -

लूकाको सुसमाचार 17 - नेपाली नयाँ संशोधित संस्करण


पाप, विश्‍वास र कर्तव्‍य

1 येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्‍चय आउँछन्‌। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा ती आउँछन्‌!

2 जुन मानिसले यी सानाहरूमध्‍ये एउटालाई पाप गर्न लाउँछ त्‍यसको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु त्‍यसको निम्‍ति बेस हुनेछ।

3 आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।

4 यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”

5 प्रेरितहरूले प्रभुलाई भने, “हामीहरूको विश्‍वास बढ़ाइदिनुहोस्‌।”

6 प्रभुले भन्‍नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्‍वास भएदेखि तिमीहरूले यस किम्‍बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्‍यौ भने, त्‍यसले मान्‍नेछ।

7 “तिमीहरूमध्‍ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्‍यस नोकरलाई ‘तुरुन्‍त आएर खान बस्’ भन्‍छ र?

8 के उसले त्‍यसलाई बरु यसो भन्‍नेछैन? ‘मेरो निम्‍ति खाना तयार गर्, र पटुका कस्‌ र मैले खाई-पिई नसकेसम्‍म मेरो सेवा-टहल गर्‌। त्‍यसपछि तैंले खानपान गर्‌।’

9 आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्‍यस नोकरलाई धन्‍यवाद दिन्‍छ र?

10 त्‍यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्‍य मात्र पालन गरेका छौं’।”


दश कुष्‍ठरोगीहरू

11 येशू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो।

12 उहाँ एउटा गाउँमा पस्‍नुहुँदा दश जना कुष्‍ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले

13 चर्को सोरले भने, “हे येशू गुरुज्‍यू, हामीमाथि कृपा गर्नुहोस्‌।”

14 उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।

15 तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,

16 र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो।

17 येशूले भन्‍नुभयो, “के निको भएका दश जना होइनन्‌ र? अरू नौ जना कहाँ छन्‌?

18 के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?”

19 अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”


परमेश्‍वरका राज्‍यको आगमन
मत्ती २४:२३-२८ , ३७-४१

20 परमेश्‍वरको राज्‍य कहिले आउँछ भन्‍ने फरिसीहरूको प्रश्‍नको जवाफमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य देखिने गरी आउँदैन,

21 न त मानिसहरूले भन्‍नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्‍यहाँ छ!’ किनभने हेर, परमेश्‍वरको राज्‍य तिमीहरूकै बीचमा छ।”

22 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्‍छा गर्नेछौ, तर तिमीहरूले देख्‍नेछैनौ।

23 मानिसहरूले तिमीहरूलाई भन्‍नेछन्, ‘हेर, ऊ त्‍यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग।

24 किनकि जसरी बिजुली चम्‍कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्‍म उज्‍यालो पार्छ, मानिसको पुत्र पनि आफ्‍नो दिनमा त्‍यस्‍तै हुनेछ।

25 तर पहिले उसले धेरै कष्‍ट सहनुपर्छ र यस पुस्‍ताबाट बहिष्‍कृत हुनुपर्छ।

26 “नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ।

27 नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।

28 “लोतका दिनमा पनि त्‍यस्‍तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्‍दैथिए, बनाउँदैथिए,

29 तर जुन दिन लोत सदोमबाट निस्‍के, आकाशबाट आगो र गन्‍धक बर्सेर तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

30 “मानिसको पुत्र प्रकट हुने दिनमा यस्‍तै हुनेछ।

31 त्‍यस दिन जो घरको कौसीमाथि छ, त्‍यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्‍यो तल नझरोस्‌। त्‍यसरी नै खेतमा हुने पनि फर्केर नआओस्‌।

32 लोतकी पत्नीलाई याद गर!

33 जसले आफ्‍नो प्राण बचाउन खोज्‍दछ, त्‍यसले सो गुमाउनेछ, र जसले आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो सुरक्षित राख्‍नेछ।

34 म तिमीहरूलाई भन्‍दछु, त्‍यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्‌। एक जना लगिनेछ र अर्को छोडिनेछ।

35 दुई जना स्‍त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्‌। एउटी लगिनेछे, अर्की छोडिनेछे।

36 [दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।”]

37 अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्‍यहाँ भेला हुन्‍छन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy