लूकाको सुसमाचार 15 - नेपाली नयाँ संशोधित संस्करणहराएको भेड़ाको दृष्टान्त मत्ती १८:१२-१४ 1 कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। 2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे। 3 तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: 4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन? 5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, 6 र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’ 7 म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ। हराएको सिक्काको दृष्टान्त 8 “कुन स्त्री होली जसको दश चाँदीका सिक्कामध्ये एउटा हरायो भने बत्ती बालेर उसले त्यो नपाउञ्जेल घर बढ़ारिकन मेहनतसँग खोज्दिन? 9 हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्का पाएकी छु।’ 10 म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।” हराएको छोराको दृष्टान्त 11 उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए। 12 कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए। 13 “धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो। 14 त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। 15 त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। 16 सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो। 17 “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। 18 म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। 19 अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।” 20 तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। 21 “छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’ 22 “तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, 23 र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं। 24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे। 25 “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। 26 त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो। 27 उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’ 28 “तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। 29 तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन। 30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’ 31 “तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो। 32 तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society