लूकाको सुसमाचार 11 - नेपाली नयाँ संशोधित संस्करणप्रार्थनाबारे येशूको शिक्षा मत्ती ६:९-१३ ; ७:७-११ 1 उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” 2 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्। 3 हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्। 4 हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्’।” 5 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ। 6 किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ 7 “उनले भित्रबाट जवाफ दिएर भन्छन्, ‘मलाई नझिँज्याऊ। ढोका अब बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’ 8 म तिमीहरूलाई भन्दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्। 9 “म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ। 10 किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। 11 “तिमीहरूमध्ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला? 12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? 13 तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।” येशू र बालजिबुल मत्ती १२:२२-२९ , ४३-४५ ; मर्कूस ३:२०-२७ 14 उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्केपछि त्यो गूँगो मान्छे बोल्न थाल्यो, र मानिसहरू आश्चर्यचकित भए। 15 तर तिनीहरूमध्ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।” 16 अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। 17 तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जुन राज्यमा फूट हुन्छ, त्यो उजाड हुन्छ। जुन घरमा फूट हुन्छ, त्यो नष्ट हुन्छ। 18 शैतानको पनि आफैसँग फाटो भयो भने, त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। 19 म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्। 20 तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। 21 “हतियारले सुसज्जित भई बलवान् मानिसले आफ्नो घरको रक्षा गर्छ भने, त्यसका मालसामानहरू सुरक्षित रहन्छन्। 22 तर त्यसभन्दा बलवान् मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने, उसले भर परेका त्यसका जम्मै हतियारहरू खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ। 23 “जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। 24 “जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ, र कतै कुनै स्थान नपाउँदा, त्यसले भन्छ, ‘म निस्केर आएको मेरै घरमा फर्केर जान्छु।’ 25 जब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ। 26 तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।” 27 उहाँले यी कुरा बोल्दाबोल्दै भीड़बाट कुनै स्त्रीले चिच्च्याएर भनी, “धन्य त्यो नारी जसले तपाईंलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।” 28 तर उहाँले भन्नुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।” योनाको चिन्ह मत्ती १२:३८-४२ 29 भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई अरू कुनै चिन्ह दिइनेछैन। 30 किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिन्ह भएथे, त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। 31 न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्दा महान् छ। 32 निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ। शरीरको बत्ती मत्ती ६:२२-२३ 33 “कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँड़ामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर सामदानमा राख्तछ। 34 तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्यारो हुन्छ। 35 यसकारण होशियार होओ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। 36 यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्यारो छैन भने, त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।” फरिसीहरूलाई धिक्कार मत्ती २३:१-३६ 37 येशू बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खान बस्नुभयो। 38 तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्क परे। 39 तर प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्टताले भरिएको हुन्छ। 40 मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्यसले नै भित्रको पनि बनाएको होइन र? 41 तर भित्रका थोक दान स्वरूप देओ, र तिम्रो निम्ति सबै कुरा शुद्ध हुनेछ। 42 “तर तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो। 43 “तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्यमुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। 44 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्।” 45 व्यवस्थाका पण्डितहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्जत गर्नुहुन्छ।” 46 उहाँले भन्नुभयो, “तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार! किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ। 47 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। 48 यसरी तिमीहरू आफ्ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूको हत्या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ। 49 यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्। 50 संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ। 51 हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्दिरको पवित्र-स्थानको माझमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्तासँग लिइनेछ। 52 “तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।” 53 जब उहाँ त्यहाँबाट निस्कनुभयो, तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले, 54 र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society