Online Bible

- Reklamy -

लेवीहरू 8 - नेपाली नयाँ संशोधित संस्करण


हारून र तिनका छोराहरूको अर्पण

1 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “तैंले हारूनलाई, त्‍यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर

3 जम्‍मै समुदायलाई भेट हुने पालको ढोकामा भेला गरा।”

4 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो।

5 मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।”

6 मोशाले हारून र उनका छोराहरूलाई ल्‍याएर पानीले नुहाइदिए।

7 तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए।

8 त्‍यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राखे।

9 तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्‍तिर सुनको पाता, अर्थात्‌ पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

10 त्‍यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्‍थान र त्‍यसमा भएका यावत्‌ थोकलाई अभिषेक गरेर चोख्‍याए।

11 त्‍यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्‍ट छर्के, र वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्‍यसको बैठकसमेत चोख्‍याउनलाई अभिषेक गरे।

12 फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्‍याई उनलाई चोख्‍याउनलाई अभिषेक गरे।

13 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

14 त्‍यसपछि तिनले पापबलिको साँढ़े ल्‍याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्‍ना हात राखे।

15 तब तिनले त्‍यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्‍नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्‍याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्‍याए। त्‍यसको निम्‍ति प्रायश्‍चित गर्न तिनले यसरी वेदी चोख्‍याए।

16 मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।

17 तर साँढ़ेचाहिँ त्‍यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

18 त्‍यसपछि तिनले होमबलिको भेड़ा प्रस्‍तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्‍ना हात भेड़ाको टाउकोमा राखे।

19 तब तिनले त्‍यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के,

20 र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए।

21 मोशाले आन्‍द्रा-भुँड़ी र खुट्टाहरू पानीले पखाले, र त्‍यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको होमबलि स्‍वरूप तिनले सिङ्गै भेड़ा वेदीमा जलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

22 त्‍यसपछि तिनले अर्को भेड़ा, अर्थात्‌ अर्पणको भेड़ा प्रस्‍तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्‍ना हात त्‍यस भेड़ाको टाउकोमा राखे।

23 तब मोशाले त्‍यसलाई मारे, र तिनले त्‍यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए।

24 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।

25 तब तिनले बोसो, बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो, कलेजो ढाक्‍ने मासु, बोसोसमेतका दुवै मिर्गौला र दाहिने साँप्रो लिए।

26 अनि परमप्रभुको सामुन्‍ने भएको अखमिरी रोटीको डालोबाट तिनले एउटा फुरौला, तेलमा मुछिएको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे।

27 ती जम्‍मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए।

28 त्‍यसपछि मोशाले उनीहरूका हातबाट ती लिएर परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको अर्पणबलिको रूपमा होमबलिमाथि वेदीमा जलाए।

29 मोशाले ह्याकुला पनि लिएर डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने डोलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्‍योचाहिँ अर्पणको भेड़ाबाट मोशाको भाग भयो।

30 तब मोशाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगासमेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगासमेत र उनका छोराहरूलाई उनीहरूका लुगासमेत पवित्र गरे।

31 तब मोशाले हारून र उनका छोराहरूलाई भने, “मैले हारून र उनका छोराहरूले खानू भनी आज्ञा गरेझैँ मासु भेट हुने पालको ढोकामा पकाओ र अर्पणबलिको डालोमा भएको रोटीसमेत त्‍यहीँ खाओ।

32 उब्रेका मासु र रोटीचाहिँ जलाइदेओ।

33 तिमीहरूका अर्पणका दिन पूरा नहोउञ्‍जेल सात दिनसम्‍म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानू, किनकि तिमीहरूको अर्पण सात दिनसम्‍म रहनेछ।

34 आज जे-जस्‍तो भएको छ परमप्रभुले तिमीहरूका प्रायश्‍चितको निम्‍ति त्‍यस्‍तै आज्ञा गर्नुभएको थियो।

35 तिमीहरू सात दिनसम्‍म दिनरात भेट हुने पालको ढोकामा बसेर परमप्रभुले दिनुभएको दायित्‍व पूरा गर, नत्रता मरौला, किनकि मलाई यही आज्ञा भएको छ।”

36 अनि परमप्रभुले मोशाद्वारा दिनुभएका सबै आज्ञा हारून र उनका छोराहरूले पालन गरे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy