Online Bible

- Reklamy -

लेवीहरू 13 - नेपाली नयाँ संशोधित संस्करण


छालाका सरुवा रोगसम्बन्धी विधि

1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

2 “कुनै मानिसको छाला फुल्‍यो कि बिमिरा कि उज्‍ज्‍वल दाग निस्क्यो, र त्‍यसको छालामा सरुवा रोग लाग्‍यो भने, त्‍यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जना कहाँ ल्‍याइओस्‌।

3 त्‍यसको छालामा लागेको त्‍यो घाउ पूजाहारीले हेरून्, अनि त्‍यसको रोग लागेको ठाउँमा उम्रेको रौँ सेतो भएको छ र त्‍यो घाउ छालाभन्‍दा गहिरो देखा पर्‍यो भने, त्‍यो सरुवा रोग हो। पूजाहारीले त्‍यसलाई जाँचेपछि त्‍यसलाई अशुद्ध ठहराऊन्‌।

4 तर त्‍यो दाग छालामा सेतो भए, र हेर्दा त्‍यो छालाभित्रसम्‍म देखिएन भने, र त्‍यसमा उम्रेको रौँ पनि सेतो भएको रहेनछ भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍गै राखून्‌।

5 सातौँ दिनमा पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो घाउ जस्‍ताको तस्‍तै रहेछ, र छालामा त्‍यो घाउ फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यसलाई अरू सात दिनसम्‍म अलग्‍ग राखून्‌।

6 सातौँ दिनमा पूजाहारीले त्‍यसलाई फेरि जाँच गर्दा रोग मत्‍थर भएको छ र छालामा फैलिएको छैन भने, पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌। त्‍यो खटिरो मात्र हो। त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुनेछ।

7 तर शुद्ध ठहरिनलाई पूजाहारीकहाँ देखाइसकेपछि पनि त्‍यो खटिरो छालामा फैलिएर आयो भने, त्‍यसले फेरि पूजाहारीकहाँ गएर आफैलाई देखाउनुपर्छ।

8 अनि पूजाहारीले जाँच गर्दा छालामा खटिरा फैलिएकै रहेछ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा रोग हो।

9 “कुनै मानिसलाई छालाको सरुवा रोग लागेको छ भने, त्‍यो पूजाहारीकहाँ ल्‍याइओस्‌।

10 अनि पूजाहारीले जाँच गर्दा छाला सेतो भएर फुलिएको रहेछ भने र त्‍यसको रौँ सेतो परेको र सुनिएको ठाउँमा आलो घाउ रहेछ भने,

11 यो धेरै समयसम्‍म रहने छालाको रोग हो, र पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। तिनले त्‍यसलाई चाहिँ अलग्‍ग नराखून्, किनभने त्‍यो अशुद्ध भइसकेको छ।

12 “रोग छालामा फैलिँदैगयो, र त्‍यो पूजाहारीले हेर्दा रोगीको शिरदेखि खुट्टासम्‍मै छालामा फैलिएको रहेछ भने,

13 र पूजाहारीले त्‍यसलाई जाँच गर्दा रोग सारा शरीरमा ढाकिएको छ भने, तिनले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। त्‍यो जम्‍मै सेतै भइसकेको कारणले त्‍यो मान्‍छे शुद्ध हो।

14 तर त्‍यसमा आलो मासु देखा पर्‍यो भने त्‍यो अशुद्ध हुनेछ।

15 पूजाहारीले त्‍यसको आलो मासु हेर्दा तिनले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो आलो मासु अशुद्ध हो, त्‍यो सरुवा रोग हो।

16 तर त्‍यो आलो मासु फेरि सेतो भएर आयो भने त्‍यो मानिस पूजाहारीकहाँ जाओस्,

17 अनि पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो रोग सेतो भएको छ भने पूजाहारीले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। तब त्‍यो मान्‍छे शुद्ध हुनेछ।

18 “कसैको छालामा पिलो निस्‍केर निको भयो,

19 र त्‍यो पिलो भएको ठाउँ सेतो भएर फुल्‍यो अथवा रातो परेको सेतो दाग त्‍यहाँ निस्क्यो भने, त्‍यसले पूजाहारीकहाँ गएर आफैलाई देखाओस्‌।

20 पूजाहारीले जाँच गर्दा त्‍यो दाग छालाभन्‍दा गहिरो देखियो र रौँ पनि सेतो भएको छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो सरुवा रोग हो। त्‍यो पिलोबाट निस्‍केको हो।

21 तर पूजाहारीले जाँच गर्दा त्‍यसमा कुनै सेतो रौँ रहेनछ, अनि त्‍यो छालाभन्‍दा गहिरो छैन तर सुकेर हराउँदैगयो भने, पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

22 त्‍यो छालामा फैलिएको छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा हो।

23 तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ भने त्‍यो पिलोको खत हो। पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।

24 “कसैको छालामा पोलेको घाउ भयो र त्‍यो पोलेको घाउको आलो मासुमा रातो-रातो परेको सेतो अथवा सेतो दाग देखा पर्‍यो भने,

25 पूजाहारीले त्‍यो दाग जाँच गरून्, र त्‍यो दागमा उम्रेको रौँ सेतो र हेर्दा छालाभन्‍दा गहिरो देखियो भने, त्‍यो सरुवा रोग हो। त्‍यो पोलेको घाउमा फुटेर निस्‍केको हो। पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, यो छालाको सरुवा रोग हो।

26 तर पूजाहारीले जाँच गर्दा त्‍यस दागमा सेतो रौँ रहेनछ, र छालाभन्‍दा गहिरो पनि रहेनछ तर सुक्‍दैगएको रहेछ भने, पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

27 पूजाहारीले त्‍यसलाई सातौँ दिनमा जाँच गरून्‌। त्‍यो छालामा फैलिएको रहेछ भने पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो छालाको सरुवा रोग हो।

28 तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदैगयो भने, त्‍यो पोलेको घाउबाट सुनिएको हो। तब पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्, किनभने त्‍यो पोलेको घाउको खत मात्र हो।

29 “कुनै पुरुष वा स्‍त्रीको कपाल अथवा चिउँड़ोमा घाउ रहेछ भने,

30 पूजाहारीले त्‍यो घाउ जाँच गरून्, र त्‍यो छालाभन्‍दा गहिरो देखियो र त्‍यसमा भएको रौँ मसिनो र पहेँलो छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍योचाहिँ चिलाउने व्‍यथा, अर्थात्‌ कपाल वा चिउँड़ोको सरुवा रोग हो।

31 तर पूजाहारीले त्‍यो चिलाउने व्‍यथा जाँच गर्दा त्‍यो छालाभन्‍दा गहिरो देखिँदैन र त्‍यसमा कालो रौँ पनि छैन भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

32 सातौँ दिनमा पूजाहारीले त्‍यस घाउलाई जाँच गरून्, र त्‍यो चिलाउने व्‍यथा फैलिएको छैन र त्‍यसमा रौँ पहेँलो भएको छैन अनि त्‍यो छालाभन्‍दा गहिरो छैन भने,

33 त्‍यसले घाउचाहिँ छोड़ेर आफ्‍नो कपाल र दाह्री खौरोस्‌। पूजाहारीले त्‍यस रोगीलाई अझै सात दिनसम्‍म अलग्‍ग राखून्‌।

34 सातौँ दिनमा पूजाहारीले त्‍यसको चिलाउने व्‍यथा जाँच गरून्‌। त्‍यो व्‍यथा नफैलिएर छालाभन्‍दा गहिरो देखिएन भने पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌। अनि त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुनेछ।

35 तर त्‍यो शुद्ध ठहरिएपछि पनि त्‍यो चिलाउने व्‍यथा छालामा फैलिन थाल्‍यो भने,

36 पूजाहारीले त्‍यो जाँच गरून्‌। त्‍यो छालामा फैलियो भने, पूजाहारीले पहेँलो रौँ छ कि छैन भनेर हेर्नुपर्दैन। त्‍यो अशुद्ध हो।

37 तर पूजाहारीले जाँच गर्दा त्‍यो चिलाउने व्‍यथा जस्‍ताको त्‍यस्‍तै रहेछ र त्‍यसमा कालो रौँ उम्रेछ भने, त्‍यो व्‍यथा निको भएको हो। त्‍यो शुद्ध छ, र पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।

38 “कुनै पुरुष अथवा स्‍त्रीको छालामा सेता दागहरू रहेछन्‌ भने,

39 पूजाहारीले ती जाँच गरून्, र त्‍यसको छालामा ती दागहरू फिक्‍का सेता रहेछन्‌ भने त्‍यो चर्मरोग मात्र हो, जो छालामा निस्‍केको छ। त्‍यो मानिस शुद्धै हो।

40 “कसैको केश झरेको रहेछ भने त्‍यो तालुखुइलेको हो, तर त्‍यो शुद्धै हो।

41 त्‍यसको केश त्‍यसका टाउकोको अगिल्‍तिर खुइलेको छ भने त्‍यो निधार खुइलेको हो, तर त्‍यो शुद्धै हो।

42 तर त्‍यसको तालु अथवा निधार खुइलेकोमा रातो-रातो परेको सेतो खटिरा भए त्‍यो तालु अथवा निधारबाट फुटेर निस्‍केको सरुवा रोग हो।

43 पूजाहारीले त्‍यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्‍तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने,

44 त्‍यो मानिस रोगी र अशुद्ध हो। त्‍यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराउनेछन्‌।

45 “सरुवा रोग भएको मानिसले च्‍यातिएका लुगा लगाउनुपर्छ, र त्‍यसको शिरको केश अस्‍तव्‍यस्‍त रहनुपर्छ। त्‍यसले आफ्‍नो मुखको पल्‍लो भाग ढाकेर ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस्‌।

46 जहिलेसम्‍म त्‍यो रोगग्रस्‍त रहन्‍छ, त्‍यो अशुद्धै रहनेछ। त्‍यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्‍यसको डेरा होस्‌।

47 “जुन लुगामा ढुसीको दाग छ, चाहे ऊनी होस्‌ अथवा सूती,

48 ताना होस्‌ अथवा बाना, सूती कि ऊनी जेसुकै होस्, छाला अथवा छालाले बनेको होस्‌—

49 ढुसी हरियो अथवा रातो परेको, लुगा, छाला, ताना, बाना अथवा छालाको कुनै वस्‍तुमा भए त्‍यो फैलिने ढुसी हो, र पूजाहारीलाई देखाउनुपर्छ।

50 पूजाहारीले त्‍यसको दागलाई जाँच गरून्, र त्‍यो दाग लागेको वस्‍तुलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

51 पूजाहारीले त्‍यो दागलाई सातौँ दिनमा जाँच गरून्‌। लुगा, ताना, बाना अथवा जुनसुकै काममा लाउने छालामा त्‍यो ढुसी फैलिएको रहेछ भने त्‍यो खतरनाक ढुसी हो। त्‍यो वस्‍तु अशुद्ध हो।

52 तब त्‍यो ढुसी लागेको लुगा, ताना, ऊनी, सूती अथवा छालाको कुनै वस्‍तु भए पनि पूजाहारीले त्‍यो जलाइदेऊन्, किनभने त्‍यो कुहाउने ढुसी हो। त्‍यो आगोमा जलाइओस्‌।

53 “तर पूजाहारीले जाँच गर्दा त्‍यो ढुसी लुगा, ताना, बाना, अथवा छालाको कुनै वस्‍तुमा फैलिएको छैन भने,

54 त्‍यो ढुसी लागेको वस्‍तु तिनीहरूले धुनू भनी पूजाहारीले आज्ञा देऊन्। तब तिनले अझै सात दिनसम्‍म त्‍यसलाई अलग्‍ग राखून्‌।

55 त्‍यो वस्‍तु धोएपछि पूजाहारीले जाँच गरून्, र ढुसी फैलिएको नभए तापनि आफ्‍नो रङ्ग बद्‌लेको छैन भने त्‍यो अशुद्ध हो। त्‍यो ढुसी भित्रपट्टि होस्‌ वा बाहिरपट्टि होस्, त्‍यसलाई आगोमा जलाइदिनू।

56 त्‍यो वस्‍तु धोएपछि पूजाहारीले जाँच गर्दा ढुसी हराउँदैगएको रहेछ भने त्‍यो लुगा, ताना वा बाना वा छालाबाट त्‍यो ढुसी लागेको भाग मात्र पूजाहारीले च्‍यातून्‌।

57 तर त्‍यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्‍तुमा फेरि देखियो भने, त्‍यो फैलिँदैगएको हो। त्‍यो ढुसी भएको वस्‍तु आगोमा जलाइनुपर्छ।

58 जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्‍तु भए पनि धुँदा त्‍यसबाट ढुसी गयो भने, त्‍यो दोस्रो पल्‍ट धोइओस्, र त्‍यो शुद्ध हुनेछ।

59 ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्‍तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्‌’।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy