Online Bible

- Reklamy -

लेवीहरू 12 - नेपाली नयाँ संशोधित संस्करण


सुत्केरीको शुद्धीकरण

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई भन्‌: ‘गर्भवती भएर छोरो जन्‍माउने स्‍त्री सात दिनसम्‍म अशुद्ध रहनेछे। रजस्‍वलाको दिनमा झैँ त्‍यो अशुद्धै रहनेछे।

3 आठौँ दिनमा छोराका खलड़ीको खतना होस्‌।

4 त्‍यसपछि त्‍यो स्‍त्री आफ्‍नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्‍ति तेत्तीस दिनसम्‍म पर्खनुपर्छ, र शुद्ध हुने दिन पूरा नहोउञ्‍जेल त्‍यसले कुनै पवित्र कुरा छुनुहुँदैन, अनि पवित्रस्‍थानभित्र पनि जानुहुँदैन।

5 तर त्‍यसले छोरी जन्‍माई भने रजस्‍वलाको दिनमा झैँ दुई हप्‍तासम्‍म त्‍यो अशुद्ध हुनेछे, र आफ्‍नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्‍ति त्‍यो छयसट्ठी दिनसम्‍म पर्खनुपर्छ।

6 “‘त्‍यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्‍ति होस्‌ वा छोरीको निम्‍ति होस्, त्‍यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

7 पूजाहारीले परमप्रभुको सामुन्‍ने ती चढ़ाएर त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्‌। अनि त्‍यो आफ्‍नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे। “‘स्‍त्रीले छोरा वा छोरी जन्‍माएपछि त्‍यसको लागि विधिहरू यी नै हुन्‌।

8 थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy