Online Bible

- Reklamy -

लेवीहरू 11 - नेपाली नयाँ संशोधित संस्करण


शुद्ध र अशुद्ध खानेकुरा

1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई यसो भन्‌: पृथ्‍वीमा भएका सारा जीवित पशु-पक्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्‍छ।

3 पशुहरूमध्‍ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्‍छ।

4 “‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात्‌ ऊँट, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

5 अनि शापन, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

6 अनि खरायो, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

7 अनि सुँगुर, किनभने त्‍यसको खुर पूरै चिरिएको त हुन्‍छ, तर उग्राउँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌।

9 “‘जल-जन्‍तुहरूमध्‍ये यो तिमीहरूले खानु हुन्‍छ, अर्थात्‌ सागर र नदीहरूमा भएका पखेटा र कत्‍ला हुने जति तिमीहरूले खानु हुन्‍छ।

10 तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।

11 ती तिमीहरूका निम्‍ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।

12 पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्‍ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्‌— गरुड, गिद्ध, कालो गिद्ध।

14 रातो चील र सबै थरीका कालो चील,

15 सबै थरीका काग,

16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,

17 सानो लाटोकोसेरो, जल कौवा, भुल्‍का,

18 सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, माछा खाने चील,

19 सारस, सबै थरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।

20 “‘पखेटा भएका चारै खुट्टाले हिँड्‌ने जीवातहरू सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

21 तर पखेटा भएका चार खुट्टाले हिँड्‌नेहरूमध्‍ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्‍छ।

22 तीमध्‍ये यी तिमीहरूले खानु हुन्‍छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्‌ग्रो।

23 चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

24 “‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।

25 जसले यिनीहरूमध्‍ये कुनैको सिनु बोक्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

26 “‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन, र जसले उगेरा गर्दैन, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्‍छ।

27 चार खुट्टाले हिँड्‌ने सबै पशुहरू जो पन्‍जाले टेकेर हिँड्‌छन्, ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌। तिनको सिनु छुने सबै साँझसम्‍म अशुद्ध हुनेछन्‌।

28 तिनीहरूको सिनु बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्‍ति अशुद्ध हुनेछन्‌।

29 “‘भूइँमा घस्रने जीवमध्‍ये यीचाहिँ तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌— अर्थात्‌ न्‍याउरीमूसो, मूसो, सबै थरीका छेपारो,

30 माउसुली, गोहोरो, भालेमुङ्‌ग्रो, बालुवाको छेपारो र रङ्ग बद्‌लने छेपारो।

31 घस्रनेहरूमा अशुद्ध यी नै हुन्‌। यिनीहरूको सिनु जसले छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

32 यीमध्‍ये मरेको कुनै एउटा केही कुरामा पर्‍यो भने, त्‍यो थोक अशुद्ध हुन्‍छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्‌ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्‌। त्‍यो पानीमा चोपल्‍नुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध हुनेछ, त्‍यसपछि मात्रै त्‍यो चोखो हुन्‍छ।

33 कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्‍ये कुनै एउटा पर्‍यो भने त्‍यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्‌। त्‍यो भाँड़ा तिमीहरूले फोरिदिनू।

34 त्‍यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्‍छ, र त्‍यस्‍तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्‍छ।

35 कुनै कुरामा, चाहे चुलो होस्‌ वा पकाउने भाँड़ो होस्, त्‍यसमा तिनीहरूको सिनु खस्‍यो भने त्‍यो अशुद्ध हुन्‍छ। त्‍यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्‍छन्‌।

36 तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्‍छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्‍छ।

37 छरिने बीउमा तिनीहरूको सिनु पर्‍यो भने पनि त्‍यो शुद्धै हुन्‍छ।

38 तर त्‍यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्‍यसमाथि पर्‍यो भने, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हुन्‍छ।

39 “‘तिमीहरूले खाने कुनै पनि पशु मर्‍यो भने त्‍यसको सिनु छुने साँझसम्‍म अशुद्ध हुन्‍छ।

40 सिनु खाने वा बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

41 “‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू।

42 पेटले सुल्‍कने, कि चार खुट्टाले घस्रने, कि धेरै खुट्टाले भूइँमा घस्रने प्राणीहरू तिमीहरूले नखानू, किनभने ती घृणित हुन्‌।

43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।

44 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।

45 किनकि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।

46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्‌।

47 शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्‍नुपर्छ’।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy