Online Bible

- Reklamy -

विलाप 5 - नेपाली नयाँ संशोधित संस्करण


कृपाको निम्ति प्रार्थना

1 हे परमप्रभु, हामीमाथि के भएको हो, स्‍मरण गर्नुहोस्‌। हाम्रो अपमान हेर्नुहोस्‌।

2 हाम्रा पैतृक-धन पराईहरूका भए, हाम्रा घर विदेशीहरूका भए।

3 हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्‍ता भएका छन्‌।

4 हामीले आफ्‍नै पानी पनि किनेर खानुपर्छ, आफ्‍नै दाउरा पनि किनेर लिनुपर्छ।

5 हामीलाई खेद्‌नेहरू हाम्रा पाइलामै छन्, हामी थकित छौं, अनि विश्राम छैन।

6 आवश्‍यक रोटीको निम्‍ति हामीले आफैलाई मिश्र र अश्‍शूरमा सुम्‍पिदियौं।

7 हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्‍दछौं।

8 कमाराहरू हामीमाथि शासन गर्छन्, हामीलाई तिनीहरूका हातबाट छुटाउने कोही पनि छैन।

9 उजाड़-स्‍थानमा भएको तरवारले गर्दा हामीले आफ्‍ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्‍याउनुपर्छ।

10 भोकले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ।

11 सियोनमा स्‍त्रीहरू, र यहूदाका सहरहरूमा कन्‍ये-केटीहरू भ्रष्‍ट पारिएका छन्‌।

12 शासकहरू आ-आफ्‍ना हातबाट झुण्‍ड्याइएका छन्, धर्म-गुरुहरूलाई केही सम्‍मान देखाइएको छैन।

13 जवान मानिसहरूले परिश्रमसाथ जाँतो पिँध्‍नुपर्दछ, ठिटाहरू दाउराको भारीले थिचिएर लड़बड़ाउँदै हिँड्‌छन्‌।

14 बूढ़ाहरू सहरका मूल ढोकामा जम्‍मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्‌।

15 हाम्रा मनबाट आनन्‍द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ।

16 हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार, किनभने हामीले पाप गरेका छौं।

17 यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्‌।

18 सियोन पर्वत उजाड़ भएको छ, स्‍यालहरू त्‍यसमा घुमिहिँड्‌छन्‌।

19 हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्‍छ। तपाईंको सिंहासन पुस्‍तौँसम्‍म रहिरहन्‍छ।

20 तपाईंले किन हामीलाई सधैँ भुल्‍नुहुन्‍छ? तपाईंले किन यति धेरै समयसम्‍म हामीलाई त्‍याग्‍नुहुन्‍छ?

21 हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस्,

22 यदि तपाईंले हामीलाई बिलकुलै इन्‍कार गर्नुभएको छैन र सम्‍झन नसक्‍ने गरी रिसाउनुभएको छैन भने!

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy