विलाप 3 - नेपाली नयाँ संशोधित संस्करणसियोनको आशा 1 उहाँका क्रोधको लाठोको दु:ख देख्ने मानिस म नै हुँ। 2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोभन्दा बरु अँध्यारोमा हिँड्न लाउनुभएको छ। 3 वास्तवमा उहाँले आफ्नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ। 4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ, र मेरा हड्डीहरू भाँचिदिनुभएको छ। 5 दु:ख र कष्टद्वारा उहाँले मलाई घेरेर थुन्नुभएको छ। 6 धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्यारो ठाउँमा हालिदिनुभएको छ। 7 उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ। 8 सहायताको लागि म चिच्च्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ। 9 ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ। 10 आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्तै, 11 उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो, र फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्याउनुभयो। 12 उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो। 13 आफ्नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो। 14 मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु, र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु। 15 उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो, र पित्त खुवाइदिनुभयो। 16 उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्चीमिल्ची गर्नुभयो। 17 शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याण के हो, सो मैले बिर्सेको छु। 18 यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।” 19 तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु। 20 म निरन्तर तिनलाई सम्झिरहन्छु, र मेरो प्राण मभित्र हताश भएको छ। 21 तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ: 22 परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। 23 हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ। 24 मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।” 25 परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। 26 चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। 27 आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ। 28 परमप्रभुले यो त्यसमाथि राख्नुभएकोले त्यो एकलै शान्त बसोस्। 29 त्यसले आफ्नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्। 30 आफ्नो गाला हिर्काउनेपट्टि नै त्यसले त्यो फर्काइदेओस्, र गिल्ला सहँदैरहोस्। 31 किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्ति फाल्नुहुन्न, 32 उहाँले दु:ख ल्याउनुभए तापनि आफ्नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्यै नथामिने प्रेम अति महान् छ। 33 किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दु:ख दिनुहुन्न। 34 देशका सबै कैदीहरूलाई खुट्टाले दल्ने, 35 सर्वोच्च परमेश्वरको सामुन्ने कुनै मानिसको हक मिच्ने, 36 कुनै मानिसलाई इन्साफदेखि वञ्चित गर्ने जस्ता कुराहरूलाई परमप्रभु हेर्न सक्नुहुन्न। 37 परमप्रभुले आज्ञा नगरुञ्जेल कसले अह्राएको पूरा भएको छ? 38 के सर्वोच्च परमेश्वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्कँदैनन्? 39 आफ्नो पापका दण्डको निम्ति मरणशील मानिसले किन गनगनाउने? 40 हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं। 41 हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं: 42 हामीले पाप गर्यौं, हामी बागी भयौं, र तपाईंले क्षमा गर्नुभएको छैन।” 43 तपाईं क्रोधले पूर्ण हुनुभयो, र तपाईंले हामीहरूको खेदो गर्नुभयो, र दया नगरी हामीलाई मार्नुभयो। 44 तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस् भनेर तपाईंले आफूलाई बादलले छोप्नुभएको छ। 45 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्याउनुभएको छ। 46 “हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्ला गरेका छन्। 47 आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्।” 48 मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्छ। 49 मेरा आँखाबाट विनाविश्राम आँसु निरन्तर बगिरहनेछ, 50 जहिलेसम्म परमप्रभुले स्वर्गदेखि तल हेरेर देख्नुहुन्न। 51 मेरो सहरका स्त्रीहरूका दुर्दशा देखेर मलाई दु:ख लाग्छ। 52 विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँड़े। 53 तिनीहरूले मेरो जीवन खाड़लमा अन्त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने, 54 पानी मेरो कपालसम्मै आयो, मैले सम्झें, “मेरो अन्त आइपुग्यो।” 55 हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें। 56 तपाईंले मेरो बिन्ती सुन्नुभयो, “छुटकाराको निम्ति मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्।” 57 मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा।” 58 हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो। 59 हे परमप्रभु, ममाथि गरिएको अत्याचार तपाईंले देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्। 60 तिनीहरूको बदलाको गहिराइ, मेरो विरुद्धमा गरिएका तिनीहरूका सबै युक्ति तपाईंले देख्नुभएको छ। 61 हे परमप्रभु, तिनीहरूले गरेका निन्दा, मेरो विरुद्धमा रचेका तिनीहरूका सबै युक्ति तपाईंले सुन्नुभएको छ, 62 जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्। 63 तिनीहरूलाई हेर्नुहोस्, उठ्दा र बस्दा पनि तिनीहरू आफ्ना गीतमा मेरो ठट्टा गर्छन्। 64 हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्। 65 तिनीहरूका हृदय छोपिदिनुहोस्, र तपाईंको श्राप तिनीहरूमाथि परोस्। 66 तपाईंले तिनीहरूलाई आफ्नो रीसमा खेद्नुहोस्, र परमप्रभुको स्वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society