Online Bible

- Reklamy -

विलाप 2 - नेपाली नयाँ संशोधित संस्करण


सियोनको अफसोस

1 परमप्रभुले आफ्‍नो रीसमा सियोनकी छोरीलाई कसरी घोर अन्‍धकारले ढाकिदिनुभएको छ! इस्राएलको गौरवलाई उहाँले आकाशदेखि पृथ्‍वीमा खसालिदिनुभएको छ। उहाँले आफ्‍नो रीसको दिनमा आफ्‍नो पाउदान, सियोनलाई पनि सम्‍झनुभएको छैन।

2 याकूबका सबै वासस्‍थानहरूलाई परमप्रभुले कत्ति पनि नटिठ्याएर नाश गर्नुभयो। आफ्‍नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्‍लाहरू भत्‍काइदिनुभयो। त्‍यो राज्‍य र त्‍यसका राजकुमारहरूलाई उहाँले भूइँमा ढालेर अपमानित तुल्‍याउनुभयो।

3 आफ्‍नो भयङ्कर रीसमा उहाँले इस्राएलका सबै शक्तिलाई नाश गर्नुभयो। शत्रुकै सामुन्‍ने उहाँले आफ्‍नो दाहिने हात हटाउनुभयो। उहाँको प्रकोप याकूबमाथि चारैतिर भस्‍म गर्ने आगो जस्‍तै पर्‍यो।

4 शत्रुले झैँ उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुभएको छ, विरोधीझैँ उहाँ खड़ा हुनुभएको छ। आँखालाई मन पर्ने जति कुरा प्रिय थिए, ती सबैलाई उहाँले शत्रुलाई झैँ घात गर्नुभएको छ। सियोनकी छोरीको पालमा उहाँले आफ्‍नो रीस आगोझैँ पोखाउनुभएको छ।

5 परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्‍ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्‍यसका सबै किल्‍लाहरू भत्‍काइदिनुभयो। उहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो।

6 उहाँले आफ्‍नो पाल बारीको छाप्रोजस्‍तै भत्‍काइदिनुभयो, उहाँले आफ्‍नो भेट गर्ने ठाउँ नष्‍ट पार्नुभयो। परमप्रभुले सियोनका तोकिएका चाड़ र शबाथहरू दुवैको सम्‍झना मेटाइदिनुभयो। आफ्‍नो भयानक रीसमा उहाँले राजा र पूजाहारी दुवैलाई तिरस्‍कार गर्नुभयो।

7 परमप्रभुले आफ्‍नो वेदीलाई अस्‍वीकार गर्नुभएको छ, आफ्‍नो पवित्र स्‍थानलाई त्‍यागिदिनुभएको छ। त्‍यसका महलका भित्ताहरू उहाँले शत्रुको हातमा दिनुभएको छ। तिनीहरूले परमप्रभुको भवनमा नै तोकिएको चाड़को दिनमा झैँ विजयको ध्‍वनि लगाएका छन्‌।

8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई नष्‍ट गर्ने निश्‍चय गर्नुभयो। उहाँले फित्ताले त्‍यो नाप्‍नुभयो। त्‍यसलाई नष्‍ट पार्नदेखि उहाँले आफ्‍नो हात रोक्‍नुभएन। उहाँले गढ़ी र पर्खाल दुवैलाई विलाप गर्न लाउनुभयो, ती दुवै एकैसाथ भत्‍के।

9 त्‍यसका मूल ढोकाहरू भूइँमै भासिए। उहाँले त्‍यसका गजबारहरू भत्‍काएर नष्‍ट पार्नुभयो। त्‍यसका राजा र राजकुमारहरू अन्‍य-जातिहरूका बीचमा निष्‍कासित छन्, र व्‍यवस्‍था रहँदैन। अनि त्‍यसका अगमवक्ताहरूले पनि परमप्रभुबाट केही दर्शन पाउँदैनन्‌।

10 सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्‍छन्, तिनीहरूले आफ्‍ना टाउकामा धूलो हालेका छन्, र भाङ्‌ग्रा ओढ़ेका छन्‌। यरूशलेमका कुमारीहरूले आफ्‍ना शिर भूइँसम्‍मै निहुराएका छन्‌।

11 रोदनको आँसुले मेरो आँखा टट्टाइसक्‍यो। मेरो प्राण मभित्र मड़ारिन्‍छ। मेरो प्रजा नष्‍ट भएको कारणले, नानीहरू र दूध-खाने बालकहरू सहरका गल्‍लीहरूमा मूर्च्‍छा खाएको कारणले मेरो हृदय छियाछिया भयो।

12 जब सहरका गल्‍लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्‍छा पर्छन्, जब आफ्‍ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्‍छन्, तब तिनीहरू आफ्‍ना आमाहरूलाई भन्‍छन्, “अन्‍न र दाखमद्य कहाँ छन्‌?”

13 हे यरूशलेमकी छोरी, तेरो निम्‍ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्‍ये-छोरी, सान्‍त्‍वनाको निम्‍ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्‍तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्‍छ र?

14 तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्‍यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्‌। तिनीहरूले तेरो निम्‍ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए।

15 तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्‍चिङ गरेर ताली बजाउँछन्‌। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्‍लाउँछन्‌: “के यो त्‍यही सहर हो, जो ‘परम सुन्‍दरी’ र ‘सारा पृथ्‍वीको आनन्‍द’ भनी कहलाइन्‍थ्‍यो?”

16 तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्‍ला गर्दछन्‌। तिनीहरूले तँलाई दाह्रा किटेर भन्‍छन्, “हामीले त्‍यसलाई नष्‍ट पार्‍यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।”

17 परमप्रभुले जे योजना गर्नुभएको थियो, उहिले उहाँले जे घोषणा गर्नुभएको थियो, त्‍यही वचन उहाँले पूरा गर्नुभयो। दयाविना उहाँले तँलाई पल्‍टाइदिनुभयो। उहाँले शत्रुलाई तँमाथि आनन्‍दित तुल्‍याउनुभयो, र तेरा वैरीहरूको शक्ति प्रबल पार्नुभयो।

18 मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्‌। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्‍तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे।

19 हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्‍थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्‍लीका मोड़मा भोकले मूर्च्‍छा खाने आफ्‍ना बालकहरूका प्राणको निम्‍ति आफ्‍नो हात उहाँतिर उठा।

20 “हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्‌। कसलाई तपाईंले यस्‍तो दु:ख दिनुभएको छ? के स्‍त्रीहरूले आफ्‍नै गर्भका फल, आफूले जन्‍माएका बालकहरूलाई खाऊन्‌? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्‍थानमा मारिऊन्‌?

21 “गल्‍ली-गल्‍लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्‌। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्‌। आफ्‍नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ।

22 “चाड़मा मानिसहरू भेला भएझैँ, तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिरबाट जम्‍मा गर्नुभयो। परमप्रभुको रीसको दिनमा न त कोही उम्‍कन पायो न कोही बाँच्‍यो। मैले हुर्काएर बढ़ाएकाहरूलाई मेरो शत्रुले नाश गरिदिएको छ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy