यहोशूको पुस्तक 7 - नेपाली नयाँ संशोधित संस्करणआकानको पाप 1 तर नाशको निम्ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो। 2 तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। 3 अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्। सबै जनालाई त्यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्।” 4 यसैले तिनीहरूमध्ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे। 5 करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्तै भयो। 6 तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्ना लुगा च्यातेर शिरमा धूलो हाली परमप्रभुका सन्दूकको अगाड़ि भूइँमा घोप्टो परेर साँझसम्मै बसिरहे। 7 अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनुभयो? बरु हामी सन्तोष गरेर यर्दन पारि नै रहनेथियौं। 8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ? 9 किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?” 10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ्, तँ किन यसरी घोप्टो पर्छस्? 11 इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्नै मालतालसँग राखेका छन्। 12 यसैकारण इस्राएलीहरू आफ्ना शत्रुको सामु अब खड़ा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूका सामुन्ने पीठ फर्काउनेछन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका माललाई नष्ट नपारुञ्जेल म अब उप्रान्त तिमीहरूसँग रहनेछैन। 13 “उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्ति आफैलाई शुद्ध राख्नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्यो अर्पित माल नफ्याँकुञ्जेल तिमीहरूका शत्रुहरूका सामुन्ने तिमीहरू खड़ा हुन सक्दैनौ। 14 “‘यसकारण बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ, त्यो सन्तान-सन्तान गरी नजिक आओस्, र जुन सन्तानलाई परमप्रभु पक्रनुहुन्छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ, त्यसबाट एक-एक मानिस गरी नजिक आओस्। 15 अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्यो र त्यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्यसले इस्राएलमा घृणास्पद काम गरेको छ’।” 16 यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्याए, र यहूदाको कुल पक्राउ पर्यो। 17 अनि तिनले यहूदाका सन्तान-सन्तान गरेर नजिक ल्याए, र जेरहको सन्तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्तानका परिवार-परिवार गरी नजिक ल्याए, र जब्दीको परिवार पक्राउ पर्यो। 18 अनि तिनले त्यसको घरका मानिस-मानिस गरी नजिक ल्याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्यो। 19 तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस् सो मलाई भन्। मबाट त्यो कुरो नलुका।” 20 आकानले यहोशूलाई भन्यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो। 21 जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्दा मुनि चाँदी छ।” 22 तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्यस पालमा गए, र ती त्यसको पालमा गाड़िराखेका रहेछन् र चाँदीचाहिँ सबैभन्दा मुनि रहेछ। 23 अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्याए, र परमप्रभुको सामु राखिदिए। 24 तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्ने, र सुनको डण्डा, अनि त्यसका छोराछोरीहरू, र त्यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्यसको पाल, र त्यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे। 25 यहोशूले भने, “तैंले हामीमाथि किन यस्तो सङ्कष्ट ल्याइस्? आज तँमाथि परमप्रभुले सङ्कष्ट ल्याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। 26 तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्म छँदैछ। तब परमप्रभु आफ्ना जल्दो क्रोधदेखि शान्त हुनुभयो। यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म आकोरको बेँसी रहेको छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society