Online Bible

- Reklamy -

यहोशूको पुस्तक 22 - नेपाली नयाँ संशोधित संस्करण


अढाइ कुलको बिदा

1 तब यहोशूले रूबेनी, गादी, र मनश्‍शेको आधा कुललाई बोलाए,

2 र तिनीहरूलाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ, र मैले अह्राएका सबै कुरामा मेरो वचन मानेका छौ।

3 धेरै समयदेखि तिमीहरूले आजसम्‍म आफ्‍ना दाजुभाइहरूलाई छोड़ेका छैनौ, तर परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको काम पूरा गरेका छौ।

4 अब परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएबमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोशाले यर्दन पारि तिमीहरूका अधिकारको निम्‍ति तिमीहरूलाई दिएका देशमा आ-आफ्‍ना डेरामा जाओ।

5 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।”


गृहयुद्धको धम्‍की हटेको

6 तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर बिदा गरे, र तिनीहरू आ-आफ्‍नो डेरामा गए।

7 (मनश्‍शेको आधा कुललाई त मोशाले बाशानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारि पश्‍चिमपट्टि तिनीहरूका दाजुभाइहरूका बीचमा दिए।) तिनीहरूलाई आ-आफ्‍ना डेराहरूमा जान बिदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए,

8 र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्‍पत्ति, र प्रशस्‍त बस्‍तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्‍ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्‍ना भाइहरूमा भागबन्‍डा गर।”

9 तब रूबेनी, गादी र मनश्‍शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।

10 जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलीलोतमा पुगे, रूबेनी, गादी र मनश्‍शेको आधा कुलले त्‍यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए।

11 अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्‍शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्‍ने कुरा सुने।

12 तब उनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई इस्राएलका सारा समुदाय शीलोमा जम्‍मा भए।

13 तब इस्राएलीहरूले गिलादको देशमा रूबेनी, गादी र मनश्‍शेको आधा कुलकहाँ पूजाहारी एलाजारका छोरा पीनहासलाई पठाए,

14 र तिनको साथमा इस्राएलका मुख्‍य मानिसहरूमध्‍ये दश जना मानिसलाई हरेक कुलबाट एक-एक गरेर पठाए। तिनीहरू इस्राएलका वंशहरूमा एक-एक परिवारका मुखिया थिए।

15 अनि तिनीहरू रूबेनी, गादी र मनश्‍शेको आधा कुलकहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने,

16 “परमप्रभुको सारा समुदाय यसो भन्‍दछ, ‘तिमीहरूले इस्राएलका परमेश्‍वरको विरुद्धमा कसरी यस्‍तो विश्‍वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोड़ेर आफ्‍ना निम्‍ति यो वेदी बनाएका छौ?

17 के पोरको अधर्मले हामीलाई पुगेन र? त्‍यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्‍म आफूलाई त्‍यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौं।

18 के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढ़ा जाँदैछौ? “‘आज तिमीहरू परमप्रभुको विरुद्धमा बागी भयौ भने, भोलि इस्राएलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ।

19 तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्‍थान छ, त्‍यहाँ आओ, र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्‍वरको वेदी छोड़ेर तिमीहरूका निम्‍ति अर्को वेदी बनाएर परमप्रभुको विरुद्ध बागी नहोओ।

20 जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्‍यो मानिस मात्र आफ्‍नो अपराधको कारणले मरेको थिएन’।”

21 तब रूबेनी, गादी र मनश्‍शेको आधा कुलले इस्राएलका वंशहरूका कुलनायकहरूलाई भने,

22 “सर्वशक्तिमान्‌ परमेश्‍वर, हो, परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, उहाँ नै जान्‍नुहुन्‍छ, र इस्राएलले जानून्‌। यदि हामीले बागी भएर परमप्रभुको विरुद्धमा अपराध गरेका रहेछौं भने, आज हामीलाई जीवित नराख।

23 परमप्रभुलाई पछ्याउन छोड़ेर हामीले आफ्‍ना निम्‍ति वेदी बनाएका रहेछौं, अथवा त्‍यसमा होमबलि वा अन्‍नबलि अथवा मेलबलि चढ़ाउन बनाएका रहेछौं भने, परमप्रभु आफैले त्‍यसको लेखा लिऊन्‌।

24 “होइन, हामीले यस अर्थले बनाएका हौं, कि कुनै बखत भविष्‍यमा तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई यसो भन्‍लान्‌: ‘परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?

25 किनकि तिमीहरू रूबेन र गादका सन्‍तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनुभएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्‍सा छैन’। यसो भनेर तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई परमप्रभुप्रतिको श्रद्धापूर्ण भय टुटाइदेलान्‌।

26 “यसकारण हामीले यसो भन्‍यौं, ‘होमबलि अथवा बलिदानको निम्‍ति नभए पनि, एउटा वेदी त हामीले बनाउनुपर्छ’।

27 तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्‍ताहरूका बीचमा यो साक्षीको रूपमा रहोस्, कि हामीहरूले होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुको सेवा उहाँको सम्‍मुखै गर्नेछौं। अनि तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई भविष्‍यमा, ‘परमप्रभुमा तिमीहरूको केही हिस्‍सा छैन’ भनी भन्‍न नपाऊन्‌।

28 “अनि हामीले विचार गर्‍यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्‍तानलाई भविष्‍यमा त्‍यसो भनिहालेमा हामी भन्‍नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्‍ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’।

29 “हामीले परमप्रभुको विरुद्धमा बागी भएर उहाँको पवित्र वासस्‍थानको सामुन्‍ने भएको परमप्रभु हाम्रा परमेश्‍वरको वेदी छोड़ेर, होमबलि, अन्‍नबलि, र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्‌ने दिन त कहिल्‍यै नआओस्‌।”

30 जब पीनहास पूजाहारीले र तिनीसँग भएका इस्राएलीका कुलनायकहरूले रूबेनका, गादका र मनश्‍शेका सन्‍तानले भनेका कुरा सुने, तब तिनीहरू प्रसन्‍न भए।

31 अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्‍शेका सन्‍तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्‍ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्‍वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।”

32 तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्‍त सुनाए।

33 त्‍यो कुरा इस्राएलीहरूलाई मन पर्‍यो, र तिनीहरूले परमेश्‍वरलाई धन्‍यका भने। फेरि उनीहरूका विरुद्धमा लड़ाइँ गर्न, र रूबेनी र गादी बसेको देश नष्‍ट पार्न जाने कुरा तिनीहरूले गरेनन्‌।

34 अनि रूबेनी र गादीहरूले त्‍यस वेदीको यो नाउँ राखे: परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ भन्‍ने हाम्रा बीचमा साक्षी।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy