यहोशूको पुस्तक 10 - नेपाली नयाँ संशोधित संस्करणबेथ-होरोनमा पाँच राजाहरूको हार र मृत्यु 1 यहोशूले ऐ सहर कब्जा गरेर ध्वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्यहाँका राजालाई जस्तै गरे र गिबोनका बासिन्दाहरूले इस्राएलीहरूसँग सन्धि गरेर बसेका छन् भन्ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए। 2 उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्यो ऐभन्दा पनि ठूलो थियो र त्यहाँका सबै निवासीहरू शूरवीर थिए। 3 यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई आह्वान गरे, 4 “मकहाँ आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।” 5 तब एमोरीहरूका पाँच राजा, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरुद्ध लड़ाइँ गरे। 6 यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्। आफ्ना दासहरूलाई नत्याग्नुहोस्, किनकि पहाड़ी देशमा बस्ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्।” 7 त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। 8 अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्ने टिक्न सक्नेछैन।” 9 यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे। 10 परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्ने अस्तव्यस्त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दैगए। 11 इस्राएलीहरूका सामुन्नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्मै ओह्रालोमा भाग्दैथिए, परमप्रभुले स्वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्ये इस्राएलीहरूले तरवारले मारेका भन्दा धेरै जना असिनाले मरे। 12 परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँचाहिँ अय्यालोनको बेँसीमाथि अड़िरह।” 13 जाति शत्रुमाथि प्रतिशोध नलिउञ्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको उल्लेख याशारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। 14 परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिनजस्तो उहिले र पछि कहिले भएन। अवश्य इस्राएलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। 15 तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के। 16 अब ती पाँच राजाहरू भागेर मक्केदाको गुफामा लुकेका थिए। 17 ती पाँचै राजा मक्केदाको गुफामा लुकेका फेला परे भन्ने समाचार यहोशूकहाँ पुग्यो। 18 यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्नलाई मानिसहरू नजिकै राख। 19 तर तिमीहरूचाहिँ नपर्ख, आफ्ना शत्रुलाई पछिपछि खेद, उनीहरूलाई पछिल्तिरबाट आक्रमण गर। उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्पनुभएको छ।” 20 जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे, 21 तब सबै मानिस मक्केदाको छाउनीमा यहोशूकहाँ कुशलसाथ फर्के। इस्राएलीहरूका विरुद्धमा कसैको वाक्य फुटेन। 22 यहोशूले भने, “गुफाको मुख खोलेर ती पाँच राजालाई गुफाबाट निकालेर मकहाँ ल्याओ।” 23 तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए। 24 तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। 25 यहोशूले तिनीहरूलाई भने, “नडराओ, हरेस नखाओ। हिम्मत गरेर बलिया होओ, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका वैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ।” 26 तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्ड्याइदिए, अनि तिनीहरू साँझसम्मै रूखमा झुण्डिरहे। 27 सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ। 28 अनि त्यही दिन यहोशूले मक्केदा कब्जा गरे, र त्यसलाई र त्यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्यसमा भएका सबै मानिसहरूलाई नाश गरे, र कसैलाई पनि बाँकी राखेनन्। तिनले यरीहोका राजालाई गरेजस्तै मक्केदाका राजालाई पनि गरे। दक्षिण कनानको विजय 29 त्यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा मक्केदाबाट हिँड़ेर लिब्ना गए, र त्यसलाई आक्रमण गरे। 30 परमप्रभुले त्यो र त्यसका राजालाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो, र तिनलाई र त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि बाँकी राखेनन्। यरीहोका राजालाई तिनले जसो गरेका थिए त्यहाँका राजालाई पनि तिनले त्यसै गरे। 31 तब यहोशू सबै इस्राएलीहरूका साथमा लिब्नाबाट हिँड़ेर लाकीशमा गए, र घेरा हालेर त्यसलाई आक्रमण गरे। 32 परमप्रभुले लाकीशलाई इस्राएलीहरूका हातमा सुम्पिदिनुभयो, र दोस्रो दिन तिनीहरूले त्यो कब्जा गरे, अनि त्यसलाई र त्यसमा भएका सबै मानिसहरूलाई तिनले लिब्नालाई गरेबमोजिम गरे, तरवारले उनीहरूलाई नाश गरे। 33 त्यसै बेला गेजेरका राजा होराम लाकीशलाई मदत गर्नलाई आए। तर यहोशूले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे। 34 त्यसपछि यहोशू सारा इस्राएलीहरूका साथमा लाकीशबाट हिँड़ेर एग्लोनमा गए, र तिनीहरूले घेरा हालेर त्यसमाथि आक्रमण गरे। 35 तिनीहरूले त्यही दिन त्यसलाई कब्जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकीशलाई झैँ त्यहाँका सबै प्राणीलाई तरवारले खतम गरे। 36 तब यहोशू सारा इस्राएलीहरूका साथमा एग्लोनबाट उक्लेर हेब्रोनमा गए, र तिनीहरूले त्यसमाथि आक्रमण गरे। 37 तिनीहरूले त्यो सहर कब्जा गरे, र त्यसलाई र त्यसका राजालाई, र त्यसका सबै गाउँहरू र तिनमा भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनीहरूले कसैलाई पनि बाँकी राखेनन्। एग्लोनमा झैँ तिनीहरूले त्यसलाई र त्यसमा भएका सबैलाई पूर्ण रूपले ध्वस्त पारे। 38 तब यहोशू सारा इस्राएलीहरूका साथमा फर्केर दबीरमा गए, र त्यसलाई आक्रमण गरे। 39 तिनीहरूले त्यसलाई, त्यसका राजालाई र त्यसका सारा गाउँहरूलाई कब्जा गरे, र तिनीहरूले उनीहरूलाई तरवारले नाश गरे। त्यसमा भएका सबै मानिसलाई नाश पारे। तिनले कसैलाई पनि बाँकी राखेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजालाई गरेझैँ, दबीर र त्यसका राजालाई पनि गरे। 40 यसरी यहोशूले सबै देश, अर्थात् पहाड़ी क्षेत्र, नेगेव भनिने दक्षिण देश, तराई र पहाड़ र त्यहाँका सबै राजाहरूलाई समेत परास्त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्। परमप्रभु इस्राएलका परमेश्वरको आज्ञाबमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे। 41 यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्म र गोशेनदेखि गिबोनसम्मको सबै क्षेत्रलाई परास्त गरे। 42 यी सब राजाहरूलाई उनीहरूका देशहरूसमेत यहोशूले एउटै धावामा जिते, किनभने परमप्रभु इस्राएलका परमेश्वरले नै इस्राएलीहरूका निम्ति युद्ध गर्नुभएको थियो। 43 त्यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा गिलगालको छाउनीमा फर्के। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society