योनाको पुस्तक 4 - नेपाली नयाँ संशोधित संस्करणपरमेश्वरको दयामा योनाको रीस 1 तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो। 2 अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ। 3 अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।” 4 तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?” 5 तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे। 6 तब परमप्रभु परमेश्वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् र तिनको दु:खहरण होस् भनेर त्यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्यन्तै खुशी भए। 7 तर भोलिपल्ट बिहान उज्यालो हुँदा परमेश्वरले एउटा कीरालाई खटाउनुभयो, र त्यसले त्यस लौकालाई खाइदियो, र त्यो ओइलाइहाल्यो। 8 सूर्य उदाएपछि परमेश्वरले पूर्वदेखि पोल्ने बतास चलाइदिनुभयो, यतिसम्म कि घाम टन्टलापुरसित योनाको टाउकोमा पर्यो र तिनी मूर्च्छा परे, र मर्ने इच्छा गरेर भने, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।” 9 तर परमेश्वरले योनालाई भन्नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?” तिनले भने, “मेरो हक छ। म मरुञ्जेलसम्मै रिसाउँछु।” 10 तर परमप्रभुले भन्नुभयो, “तैंले नस्याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्तित भइस्। एकै रातमा बढ़्यो, र एकै रातमा नष्ट पनि भयो। 11 तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society