Online Bible

- Reklamy -

योएलको पुस्तक 3 - नेपाली नयाँ संशोधित संस्करण


जाति-जातिहरूको न्याय

1 “ती दिनहरूमा र त्‍यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्‍य फर्काउनेछु,

2 तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्‍याउनेछु। त्‍यहाँ मेरो प्रजा, अर्थात्‌ मेरो निज उत्तराधिकारी इस्राएलको निम्‍ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्‍ड दिनेछु।

3 उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्‍यागमनको निम्‍ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे।

4 “अब ए टुरोस र सीदोन, र पलिश्‍तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्‍ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्‍यो तिमीहरूकै थाप्‍लोमा म चाँड़ै खन्‍याइदिनेछु।

5 किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्‍ना मन्‍दिरहरूमा लगेका छौ।

6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका घरबारदेखि टाढ़ा पठाउनलाई ग्रीकहरूका हातमा बेच्‍यौ।

7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँहरूबाट म तिनीहरूलाई निकाल्‍नेछु, र तिमीहरूले दिएको साटो म तिमीहरूकै थाप्‍लोमा खन्‍याइदिनेछु।

8 म तिमीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु, र तिनीहरूले यिनीहरूलाई टाढ़ाको एक जाति, अर्थात्‌ शबाका मानिसहरूलाई बेचिदिनेछन्‌।” परमप्रभुले भन्‍नुभएको छ।

9 जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्‍ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्‌।

10 तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।”

11 हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्‍यहाँ एकसाथ भेला होओ। हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्‍याउनुहोस्‌।

12 जातिहरू सुरिऊन्‌ र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्‍यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्‍याय गर्नलाई बस्‍नेछु।

13 हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्‍च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्‌। उनीहरूको दुष्‍टता ज्‍यादै भइसक्‍यो।”

14 “फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ।

15 सूर्य र चन्‍द्र अँध्‍यारा हुनेछन्‌ र ताराहरूले आफ्‍नो चमक दिनेछैनन्‌।

16 परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्‍नो उच्‍च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍नो प्रजाको निम्‍ति शरणस्‍थान, इस्राएलका मानिसहरूका निम्‍ति गढ़ हुनुहुनेछ।


परमेश्‍वरका मानिसहरूलाई आशिष्‌

17 “तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्‍यसलाई फेरि कहिल्‍यै आक्रमण गर्नेछैनन्‌।

18 “त्‍यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्‍न लाग्‍नेछ। यहूदाका सबै खोल्‍साहरूमा पानी बग्‍न थाल्‍नेछ, र परमेश्‍वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्‍यकालाई भिजाउनेछ।

19 तर यहूदाका मानिसहरूमाथि अत्‍याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ।

20 यहूदा सदासर्वदाको निम्‍ति र यरूशलेम पुस्‍तौँ-पुस्‍तौँसम्‍म मानिसहरूका वासस्‍थान हुनेछन्‌।

21 तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।” परमप्रभु सियोनमा वास गर्नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy