योएलको पुस्तक 2 - नेपाली नयाँ संशोधित संस्करणसलहहरूको हूल 1 सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्वनि बजाओ। देशमा बस्नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्यो नजिकै छ, 2 अन्धकार र उदासी दिन, बादल र बाक्लो अँध्यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्यस्तो अघि कहिल्यै भएको थिएन, न त फेरि पुस्ता-पुस्तासम्म कहिल्यै हुनेछ। 3 तिनीहरूका अगिअगि आगोले भस्म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका सामुन्ने भूमि अदनको बगैँचाजस्तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्तो छ। तिनीहरूदेखि केही पनि उम्कनेछैन। 4 तिनीहरूको अनुहार घोड़ाहरूको जस्तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्छन्। 5 रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्छन्, झिँजामिजाहरूलाई भस्म गर्ने आगोका ज्वालाको आवाजझैँ, लड़ाइँको निम्ति पङ्क्ति बाँधेको बलियो सेनाझैँ। 6 तिनीहरूलाई देख्दा जाति-जातिहरू शोकित हुन्छन्, हरेक अनुहार पहेँलो हुन्छ। 7 तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारीकन प्रत्येक एउटै पङ्क्तिमा हिँड्छन्। 8 तिनीहरू एउटाले अर्कालाई धक्का दिँदै हिँड्दैनन्, प्रत्येक आफ्ना-आफ्नै पङ्क्तिमा सीधा अगि बढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्छन्। 9 तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्छन्। तिनीहरू घरका झ्यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्। 10 पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्। 11 परमप्रभु आफ्नो सेनाको अगि गर्जनुहुन्छ। उहाँको फौज अनगन्ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्। परमप्रभुको दिन महान् र साह्रै डरलाग्दो छ। त्यो कसले सहन सक्छ र? आफ्नो हृदयलाई फटाओ 12 परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” 13 आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ। 14 कसले जान्दछ, कतै दु:खित भएर उहाँले आफ्नो मन बदली आशिष् दिनुहुन्छ— परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरूले चढ़ाउने अन्नबलि र अर्घ-बलिहरू। 15 सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। 16 मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्। 17 परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्दिरको दलान र वेदीका बीचमा रोऊन्। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्नो प्रजालाई बाँकी राख्नुहोस्। आफ्नो उत्तराधिकारीलाई गिल्लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्द हुन नदिनुहोस्। ‘तिनीहरूका परमेश्वर कहाँ छन् त?’ भनी अन्यजातिहरूले किन भन्न पाऊन्?” परमप्रभुको प्रत्युत्तर 18 तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। 19 परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ। 20 “म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।” निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ। 21 ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्। निश्चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ। 22 ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिन्छन्। 23 ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद् र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ। 24 तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्। 25 “म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। 26 तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। 27 तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। परमप्रभुको दिन 28 “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। 29 ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। 30 आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धूवाँका मुस्लाहरू। 31 परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। 32 परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society