यर्मिया 7 - नेपाली नयाँ संशोधित संस्करणझूटो धर्म व्यर्थ हो 1 यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: 2 “परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर्: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। 3 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला। 4 छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!” 5 यदि तिमीहरूले आफ्ना चाल र कामहरू साँच्ची नै सुधार्यौ, र तिमीहरू एउटाले अर्कासित न्यायसङ्गत व्यवहार गर्यौ भने, 6 यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताहरूका पछि लागेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्म रहनलाई दिएको थिएँ। 8 तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्तछौ, जो व्यर्थैका छन्। 9 “‘के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्छौ, 10 अनि त्यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्ने खड़ा भएर भन्छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्क बस्छौ? 11 के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्नुहुन्छ। 12 “‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्थान बनाएको थिएँ, र मैले आफ्नो प्रजा इस्राएलको दुष्ट्याइँको कारण त्यस ठाउँलाई के गरें त्यहाँ गएर हेर। 13 परमप्रभु भन्नुहुन्छ, तिमीहरूले यी सबै काम गरिरहँदा, म तिमीहरूसित बारम्बार बोलें, तर तिमीहरूले ध्यानै दिएनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ। 14 यसकारण मेरो नाउँ राखिएको मन्दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु। 15 मैले एफ्राइमका सबै मानिसहरू, अर्थात् तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्थितिदेखि म बाहिर निकालिदिनेछु’। 16 “यसैले तैंले यस प्रजाको निम्ति प्रार्थना नगर्, न त यिनीहरूका निम्ति पुकारा वा बिन्ती चढ़ा। मसित यिनीहरूका निम्ति अन्तर्बिन्ती नगर्, किनकि म तेरो प्रार्थना सुन्नेछैनँ। 17 यहूदाका सहरहरूमा र यरूशलेमका गल्लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्दैनस्? 18 छोराछोरीहरू दाउरा बटुल्छन्, बुबाहरू आगो सल्काउँछन्, र स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्त्रीहरू पीठो मुछ्छन्। अरू देवताहरूका निम्ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्। 19 तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन् त? परमप्रभु भन्नुहुन्छ। के तिनीहरू आफैलाई लज्जित तुल्याउनलाई आफ्नै हानि गरिरहेका छैनन् र? 20 “‘यसकारण परमप्रभु भन्नुहुन्छ: यस ठाउँमा मेरो रीस, मेरो क्रोध खन्याइनेछ— मानिस र पशु, मैदानका रूखहरू र जमिनका उब्जनीहरू सबैमाथि त्यो जलिरहनेछ, र कहिल्यै निभ्नेछैन। 21 “‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ। 22 किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ, 23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्। 24 तर तिनीहरूले आज्ञापालन गरेनन् न त तिनीहरूले ध्यान नै दिए। त्यसको सट्टा तिनीहरू आफ्नै दुष्ट हृदयको अटेरीपनामा हिँड्दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्। 25 तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्केको समयदेखि यसो अहिलेसम्म मैले बारम्बार दिनैपिच्छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ। 26 तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्दा पनि अझ खराबी गरे’। 27 “जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुरामा ध्यान दिनेछैनन्। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्। 28 यसैकारण तैंले तिनीहरूलाई भन्, ‘यो त्यही जाति हो, जसले परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गरेन, र उहाँको अनुशासन ग्रहण गरेन। सत्यचाहिँ नष्ट भयो, त्यो तिनीहरूको मुखबाट लोप भयो। 29 आफ्नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्तालाई परमप्रभुले इन्कार गर्नु र त्याग्नुभएको छ। हत्याको बेँसी 30 “‘यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्दा देवताहरू त्यसमा खड़ा गरेका छन्। 31 आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन्। यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो। 32 यसकारण होशियार होओ, यस्ता दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब मानिसहरूले त्यसलाई तोपेत वा बेन-हिन्नोमको बेँसी कहिल्यै भन्नेछैनन्, तर त्यो हत्याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्जेलसम्म गाड्नेछन्। 33 तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहार हुनेछन्। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन। 34 म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society