Online Bible

- Reklamy -

यर्मिया 6 - नेपाली नयाँ संशोधित संस्करण


यरूशलेम घेरामा परेको

1 “हे बेन्‍यामीनका मानिसहरू हो, सुरक्षाको निम्‍ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ।

2 सुन्‍दरी र कोमल सियोनकी छोरीलाई म नाश गर्नेछु।

3 गोठालाहरू आ-आफ्‍ना बगालसाथ त्‍यसको विरुद्धमा आइलाग्‍नेछन्‌। उनीहरू आफ्‍ना पाल त्‍यसका चारैतिर लगाउनेछन्‌। हरेकले आफ्‍नै भाग चराउनेछ।”

4 “त्‍यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्‍यदिनमा त्‍यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्‍कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ।

5 यसकारण उठ, हामी राती त्‍यसमाथि आक्रमण गरौं, र त्‍यसका किल्‍लाहरू नाश गरौं!”

6 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रूखहरू काटेर ढाल, र यरूशलेमको विरुद्धमा मचानहरू बनाओ। यस सहरलाई दण्‍ड दिनैपर्छ। यो सहर अत्‍याचारले भरिएको छ।

7 जसरी इनारले आफ्‍नो पानी खन्‍याउँछ, त्‍यसरी नै त्‍यसले आफ्‍नो दुष्‍टता खन्‍याउँछ। त्‍यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्‍छ। त्‍यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्‍ने छन्‌।

8 हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्‍गै बस्‍नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्‍यसमा कोही वास गर्नेछैन।”

9 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्‌। दाख टिप्‍नेले झैँ त्‍यसका हाँगाहरूमा फेरि आफ्‍नो हात बढ़ा।”

10 म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्‍ला? तिनीहरूका कान बन्‍द भएका छन्‌। तिनीहरू सुन्‍न सक्‍दैनन्‌। परमप्रभुको वचन तिनीहरूका निम्‍ति मन नपर्ने भएको छ। तिनीहरू त्‍यसमा केही रुचि लिँदैनन्‌।

11 तर परमप्रभुको क्रोधले म भरिपूर्ण भएको छु। म अब त्‍यो थाम्‍न सक्‍दिनँ। “सड़कहरूमा केटाकेटीहरूमाथि र भेला भएका जवानहरूमाथि पनि त्‍यो खन्‍याइदे। पति र पत्‍नी दुवै र बुढापाकाहरू र उमेरले दबेकाहरू सबै त्‍यसभित्र समातिनेछन्‌।

12 देशका बासिन्‍दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्‍नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

13 “सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धन-सम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।

14 मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नै नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।

15 के तिनीहरू आफ्‍ना घिनलाग्‍दा चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँगै तिनीहरूको पनि पतन हुनेछ। तिनीहरूलाई मैले दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

16 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।

17 मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्‍यानसित सुन!’ तर तिमीहरूले भन्‍यौ, ‘हामी सुन्‍नेछैनौं’।

18 यसकारण तिनीहरूलाई के हुनेछ? हे जाति-जातिका मानिस हो, सुन। हे गवाही दिने हो, सो हेरिराख।

19 हे पृथ्‍वी, सुन्‌। म यस प्रजामाथि सर्वनाश ल्‍याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्‍यान दिएनन्, र मेरो व्‍यवस्‍थालाई चाहिँ तिनीहरूले इन्‍कार गरे।

20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

21 यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्‍ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्‌।”

22 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्‍वीको पल्‍लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्‍याइँदैछ।

23 उनीहरू धनु र भाला लिएर सुसज्‍जित भएका छन्, उनीहरू निष्‍ठुर र निर्दयी छन्‌। उनीहरूको हल्‍ला समुद्रको गर्जनजस्‍तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्‌क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्‌।”

24 हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्‍यौं र हाम्रा हात-खुट्टा लल्‍याकलुलुक भए। सङ्कष्‍टले हामीलाई समातिहाल्‍यो, प्रसववेदनामा परेकी स्‍त्रीझैँ हामी भयौं।

25 खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्‍छ।

26 हे मेरा प्रजा, भाङ्‌ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्‍कासि हामीमाथि आइलाग्‍नेछ।

27 “तैंले तिनीहरूका चाल जाँच्‍न र हेर्न भनी मैले तँलाई धातु जाँच गर्ने र तिनीहरूलाई चाहिँ नपगालेको कच्‍चा धातुझैँ बनाएँ।

28 तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्‌ने कठोर बागीहरू हुन्‌। तिनीहरू काँसा र फलाम भइगएका छन्‌। तिनीहरू सबै भ्रष्‍ट चालको काम गर्दछन्‌।

29 आगोले भस्‍म हुने पदार्थलाई भस्‍म पार्न खलाँती खूब जोडसित फुकिन्‍छ। तर सफा गर्ने काम व्‍यर्थमा भइरहन्‍छ। दुष्‍टहरूको छनोट भएको छैन।

30 तिनीहरूलाई खोट लागेका चाँदी भनिन्‍छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्‍कार गर्नुभएको छ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy