यर्मिया 47 - नेपाली नयाँ संशोधित संस्करणपलिश्तीहरूका विषयमा सन्देश 1 फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: 2 परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्। ती बाढ़ीको भलझैँ हुनेछन्। त्यसले देश र त्यसमा भएका जम्मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई। 3 फट्केर कुद्ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्ग्राहरूको हल्लामा मानिसहरू रुनेछन् र देशमा बस्नेहरू सबैले विलाप गर्नेछन्। बुबाहरूले आफ्ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्। तिनीहरूका हातहरू लुला भएर झुण्डिन्छन्। 4 किनभने पलिश्तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई सहायता गर्न सक्नेहरू सबै नष्ट हुनेछन्। परमप्रभुले पलिश्तीहरूलाई नाश गर्न लाग्नुभएको छ, कप्तोरका किनारहरूका बाँकी रहेकाहरूलाई। 5 शोक गर्नलाई गाजाले आफ्नो कपाल खौरनेछ। अश्कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्म तिमीहरू आ-आफ्नो शरीर काट्नेछौ? 6 “‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्छस्?” तिमीहरू कराउँछौ। “आफ्ना म्यानमा पस्। तँ शान्तसँग बस्।” 7 तर परमप्रभुले त्यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्यो कसरी शान्त भएर बस्छ र?” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society