यर्मिया 43 - नेपाली नयाँ संशोधित संस्करण1 जब परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, 2 तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्नलाई परमप्रभु हामीहरूका परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। 3 तर बेबिलोनीहरूले हामीहरूलाई मारून् अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन् भन्ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्साएको हो।” 4 यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्नू भन्ने परमप्रभुको आज्ञा भङ्ग गरे। 5 त्यसको सट्टा यहूदाका बाँकी रहेका जम्मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे— 6 पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे। 7 यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे। 8 तहपनेसमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 9 “तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्। 10 अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्यसको सिंहासन म बसाल्नेछु। त्यसले तीमाथि आफ्नो राजपत्र फैलाउनेछ। 11 त्यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्युको लागि लेखिएका भए मृत्युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्। 12 त्यसले मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ। त्यसले उनीहरूका मन्दिरहरूलाई जलाइदिनेछ, र देवताहरूलाई कैद गरेर लानेछ। जसरी गोठालाले आफ्नो लुगा ओढ्छ, त्यसरी नै त्यसले मिश्रदेशलाई ओढ्नेछ र त्यो त्यहाँबाट केही हानि नभई फर्कनेछ। 13 त्यसले मिश्रदेशमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरू भत्काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society