यर्मिया 4 - नेपाली नयाँ संशोधित संस्करण1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, 2 र तिमीहरूले सत्य, न्याय र धर्मसित ‘जीवित परमेश्वरको नाउँमा’ भन्ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन् र उनीहरूले उहाँमा महिमा गर्नेछन्।” 3 यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका बाँझो भूमिमा डल्ला फोर, र काँढ़ाहरूका बीचमा नछर। 4 परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैँ दन्केर निस्कनेछ, र कसैले ननिभाउने गरी त्यो जल्नेछ। उत्तरबाट आउने सर्वनाश 5 “यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं!’ 6 सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु।” 7 आफ्नो ओड़ारदेखि एउटा सिंह निस्किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्दारहित भई नष्ट हुनेछन्। 8 यसैकारण भाङ्ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्दो रीस हामीबाट हटेको छैन।” 9 परमप्रभु भन्नुहुन्छ “त्यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्।” 10 तब मैले भनें, “हाय, परमप्रभु परमेश्वर, हाम्रा घिच्रैमा तरवार आइलाग्दा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।” 11 त्यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्ने बतास मेरो प्रजातिर बहन्छ, तर त्यो न त निफन्न न छान्नलाई हुन्छ। 12 त्यसभन्दा एउटा प्रचण्ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्डाज्ञा दिनेछु।” 13 हेर, बादलझैँ उहाँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्दा चाँड़ा छन्। हाय, हामीहरू, हामी नष्ट भयौं! 14 हे यरूशलेम, दुष्ट कुराहरू तेरो हृदयदेखि पखाली फ्याँक्, र तँ बाँच्नेछस्। कहिलेसम्म खराब विचारहरू तँमा रहिरहनेछन्? 15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ। 16 “जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्वनि उठाइरहेछ। 17 बारी रुँग्नेहरूजस्तै तिनीहरू त्यसका चारैतिर घेरेर बस्छन्, किनभने त्यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्नुहुन्छ। 18 “तेरा आफ्नै चाल र कामहरूले गर्दा यो तँमाथि आइपरेको छ। तेरो दण्ड यही हो, त्यो कस्तो तीतो छ! त्यसले कस्तो किसिमले मुटु छेड्छ!” 19 हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु। 20 नाशमाथि नाश आउँछ, सारा देश नै उजाड़ पारिन्छ। मेरा पालहरू तुरुन्तै ध्वस्त हुन्छन्, मेरा शरणस्थान एक क्षणमा नै नष्ट हुन्छ। 21 कहिलेसम्म मैले युद्धको झन्डालाई हेरिबस्ने, र तुरहीको आवाजलाई सुनिरहने? 22 “मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्दैनन्। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्दैनन्।” 23 मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो। अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन। 24 मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्लिरहेका थिए। 25 मैले हेरें, र त्यहाँ कोही मानिसहरू नै थिएनन्। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए। 26 मैले हेरें, र परमप्रभुको सामुन्ने, उहाँको भयानक रीसको सामुन्ने फलदायक जमिन मरुभूमि भएथ्यो, र त्यसका सबै नगरहरू ध्वस्त भएथे। 27 परमप्रभु यसो भन्नुहुन्छ: “सारा देश ध्वस्त हुनेछ, तापनि म त्यो पूरै नाश गर्नेछैनँ। 28 यसकारण पृथ्वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्केको फैसला हो, र त्यो गर्नदेखि मेरो मन बद्लिनेछैन। यो मैले निश्चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।” 29 घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्दाहरू भागेर जान्छन्, र तिनीहरूमध्ये कोही झाड़ीहरूमा पस्छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्लेर जान्छन्। सबै सहरहरू निर्जन भएका छन्, त्यहाँ कोही पनि बस्दैन। 30 हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्? व्यर्थमा तँ आफूलाई सुन्दर बनाउँछेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्यान लिन खोज्छन्। 31 प्रसववेदनामा परेकी स्त्रीको सोरजस्तो एउटा आवाज म सुन्छु, पहिलो बालक जन्माउने स्त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्दछु, “हाय, म मूर्च्छा खाइरहेकी छु! हत्याराहरूलाई मेरो ज्यान दिइएको छ!” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society