यर्मिया 39 - नेपाली नयाँ संशोधित संस्करणयरूशलेमको पतन 1 यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले। 2 अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्यस सहरको पर्खाल भत्काइयो। 3 जब यरूशलेम लिइयो, तब बेबिलोनका राजाका सबै अधिकारीहरू आएर मध्य ढोकामा बसे: सम्गरका नेर्गलसरेसर, प्रमुख पदाधिकारी नेबो-सर्सेकिम, एक उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू। 4 जब यहूदाका राजा सिदकियाह र सबै सिपाहीहरूले उनीहरूलाई देखे, तब तिनीहरू दुई पर्खालका बीचमा भएको ढोकाबाट छिरेर राजाको बगैँचाबाट भएर राती नै सहरदेखि बाहिर भागे, र अराबातिर लागे। 5 तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा फेला पारे। उनीहरूले तिनलाई पक्रेर हमात देशको रिब्ला भन्ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए। तब उनले सिदकियाहलाई दण्डको आज्ञा दिए। 6 त्यहीँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे। 7 उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्लाले बाँधे। 8 बेबिलोनीहरूले राजकीय महल र मानिसहरूका घरहरू जलाइदिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। 9 तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे। 10 तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए। 11 बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानद्वारा यर्मियाको विषयमा यस्तो आज्ञा दिए, 12 “यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।” 13 यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य पदाधिकारी नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले 14 मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्याए। तिनलाई घरमा लैजाने जिम्मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्ना मानिसहरूसँगै रहे। 15 गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 16 “गएर कूशी एबेद-मेलेकलाई भन्: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: उन्नति गरेर होइन, तर विपत्ति ल्याएर यस सहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्न लागेको छु। ती तेरै आँखाका सामुन्ने त्यो दिन पूरा हुनेछन्। 17 तर म तँलाई त्यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस् उनीहरूका हातमा तँ सुम्पिइनेछैनस्, परमप्रभु भन्नुहुन्छ। 18 म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्नुहुन्छ’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society