Online Bible

- Reklamy -

यर्मिया 38 - नेपाली नयाँ संशोधित संस्करण


यर्मिया इनारमा हालिएका

1 मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,

2 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘जो यस सहरमा बस्‍छ त्‍यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो निस्‍केर बेबिलोनीहरूकहाँ जान्‍छ त्‍यो बाँच्‍नेछ। त्‍यसले आफ्‍नो ज्‍यान जोगाएर उम्‍कनेछ, र त्‍यो बाँच्‍नेछ।

3 अनि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यो सहर निश्‍चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्‍पिइनेछ, र त्‍यसले यो कब्‍जा गर्नेछ’।”

4 तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्‍ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्‍साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्‍छ।”

5 सिदकियाह राजाले जवाफ दिए, “त्‍यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्‍दैनन्‌।”

6 यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्‍कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्‍यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्‍यस हिलोमा भासिए।

7 राजा त्‍यस बेला बेन्‍यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने,

8 तब तिनले राजमहलबाट गएर राजालाई भने,

9 “हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्‍ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्‍यहाँ भोकै मर्नेछन्‌।

10 तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्‍यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्‍यस इनारबाट निकाल।”

11 यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्‍डारमुनिको एउटा कोठामा गए, र त्‍यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए।

12 तब कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा काखी र डोरीहरूका बीचमा यी थोत्रा लुगाहरू लगाऊ।” यर्मियाले त्‍यसै गरे।

13 तब तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई इनारबाट बाहिर निकाले। त्‍यसपछि यर्मिया गारदको चोकमा बसे।


सिदकियाहले यर्मियालाई फेरि प्रश्‍न गरेका

14 तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्‍दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्‍याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्‍नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।”

15 यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्‍न? मैले तपाईंलाई सल्‍लाह दिएँ भने पनि तपाईंले त्‍यो सुन्‍नुहुन्‍न।”

16 तर सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्‍दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।”

17 तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्‍पिदिइस्‌ भने तेरो प्राण बाँच्‍नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्‍नेछस्‌।

18 तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्‍पिदिइनस्‌ भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्‍कनेछैनस्‌’।”

19 तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्‍दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्‍पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्‌।”

20 यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्‍पिनेछैनन्‌। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस्‌ र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्‍नेछ।

21 तर सुम्‍पिनलाई तपाईंले इन्‍कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो:

22 यहूदाका राजाको महलमा छोड़िएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्‌: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्‌। तपाईंका मित्रहरूले तपाईंलाई त्‍यागेका छन्‌।’

23 तपाईंका सबै पत्‍नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्‍याइनेछन्‌। तपाईं आफै पनि उनीहरूका हातबाट उम्‍कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”

24 तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला।

25 यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्‍यौ, र राजाले तिमीलाई के भन्‍नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन्‌ भने,

26 तिमीले तिनीहरूलाई भन्‍नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस्‌ भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।”

27 सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्‍न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन।

28 यरूशलेम लिने दिनसम्‍मै यर्मिया गारदको चोकमा नै रहे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy