यर्मिया 37 - नेपाली नयाँ संशोधित संस्करण1 योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्य गर्न लागे। 2 तर न त तिनले न तिनका टहलुवाहरूले न देशका मानिसहरूले यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएका वचनमा ध्यान दिए। 3 तापनि सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ।” 4 त्यस बेलासम्म यर्मिया मानिसहरूका बीचमा हिँड्डुल गर्दैथिए, किनभने तिनी झ्यालखानमा हालिएका थिएनन्। 5 फारोको सेना मिश्रदेशबाट आएको थियो, र जब यरूशलेमलाई घेरा लाउने बेबिलोनीहरूले यो कुरा सुने तब उनीहरू यरूशलेमबाट पछि हटे। 6 तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो: 7 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्नलाई पठायो, त्यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्नै देश मिश्रमा फर्केर जानेछ। 8 तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्। उनीहरूले यसलाई लिनेछन् र जलाइदिनेछन्।’ 9 “परमप्रभु यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले निश्चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्। 10 तिमीहरूका विरुद्धमा लड्ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।” 11 फारोका सेनाको कारण जब बेबिलोनीहरूको सेना यरूशलेमबाट हट्यो, 12 तब मानिसहरूको माझमा आफ्नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्यामीनको इलाकातिर जान लागे। 13 तर जब तिनी बेन्यामीनको ढोकामा आइपुगे तब हनन्याहका नाति, शेलेम्याहका छोरा गारदका कप्तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!” 14 यर्मियाले भने, “यो कुरो सत्य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्याए। 15 तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्यसलाई झ्यालखान बनाएका थिए। 16 तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। 17 तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्याएर गुप्तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?” यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।” 18 तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्यालखानमा हालिदिनुभयो? 19 ‘तपाईं र यस देशलाई आक्रमण गर्न बेबिलोनका राजा आउनेछैनन्’ भनी तपाईंलाई अगमवाणी कहने तपाईंका अगमवक्ताहरू कहाँ छन्? 20 तर अब हे मेरा प्रभु राजा, बिन्ती छ, ध्यानसित सुन्नुहोस्। मेरो नम्र-निवेदन तपाईंको अगि राख्न दिनुहोस्। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्यहाँ मर्नेछु।” 21 तब सिदकियाह राजाको हुकुमअनुसार यर्मिया गारदको चोकमा राखिए, र सहरका जम्मै रोटी नसकुञ्जेल बजारको पसलबाट दिनहुँ तिनलाई रोटी दिइन्थ्यो। यसरी यर्मिया गारदको चोकमा रहे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society