यर्मिया 34 - नेपाली नयाँ संशोधित संस्करणसिदकियाहलाई चेताउनी 1 जब बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना, उनले राज्य गरेका पृथ्वीका सबै राज्यहरू र मानिसहरूले यरूशलेम र त्यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 2 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्पिदिनै लागेको छु। त्यसले यसलाई आगोले जलाइदिनेछ। 3 त्यसको हातबाट तँ उम्कन पाउनेछैनस्, तर तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिइनेछस्। तैंले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस् र तँ त्यससँग मुखामुख बोल्नेछस्, र तँ बेबिलोनमा जानेछस्। 4 “‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्। तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ: तँ तरवारले मारिनेछैनस्। 5 तँ शान्तिसित मर्नेछस्, र जसरी तेरा पुर्खाहरू, अर्थात् तँभन्दा अघिका राजाहरूका लागि मानिसहरूले मृत-संस्कार गरेका थिए, त्यसरी तेरो लागि पनि तिनीहरूले इज्जतसित गर्नेछन्, र तेरो लागि यसो भन्दै विलाप गर्नेछन्, “हाय, मालिक!” म आफै यो प्रतिज्ञा गर्दछु, परमप्रभु घोषणा गर्नुहुन्छ’।” 6 तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्यस बेला भने, 7 जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्। यहूदाका किल्ला भएका सहरहरूमध्ये यी दुई सहर मात्रै बाँकी रहेका थिए। कमाराहरूका निम्ति छुटकारा 8 परमप्रभुको वचन यर्मियाकहाँ त्यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए। 9 हरेकले आ-आफ्ना हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारो तुल्याउनुहुँदैनथ्यो। 10 यसैले यस करारमा संलग्न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्ना कमारा-कमारीलाई स्वतन्त्र गरिदिन र फेरि कमारा नतुल्याउन भनी स्वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्वतन्त्र गरिदिए। 11 तर पछि तिनीहरूले आफ्नो मन बदली गरेर आफूले स्वतन्त्र गरेका कमारा-कमारीलाई ल्याए र फेरि कमारा-कमारी नै तुल्याए। 12 तब परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: 13 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ, 14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्वतन्त्र गर्नू। छ वर्षसम्म तिमीहरूको चाकरी गरिसकेपछि त्यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन् अथवा ध्यानै दिएनन्। 15 तिमीहरूले चाहिँ भर्खरै पश्चात्ताप गर्यौ। तिमीहरू हरेकले आफ्ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्टिमा जे असल छ त्यो गर्यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्ने तिमीहरूले एउटा करार बाँध्यौ। 16 तर अब तिमीहरूले मन बदली गरेर मेरो नाउँ बिटुलो पारेका छौ। तिमीहरू हरेकले जुन कमारा-कमारीलाई तिनीहरूको इच्छाअनुसार छोड़िदिएर मुक्त गरिदिएका थियौ, उनीहरूलाई फेरि आफ्ना कमारा-कमारी तुल्याउनलाई बलजफती गर्यौ। 17 “यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्ना स्वदेशी दाजुभाइलाई स्वतन्त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्ति ‘स्वतन्त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति घृणित तुल्याउनेछु। 18 मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्यही बाछासँग जस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारेर तिनका बीचबाट हिँड़े। 19 यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्याकका बीचबाट हिँड़ेर गए, 20 म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका आहार हुनेछन्। 21 “यहूदाका राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ। 22 परमप्रभु भन्नुहुन्छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्यसलाई लिइहाल्नेछन्, र त्यसलाई जलाइदिनेछन्। अनि म यहूदाका नगरहरूलाई बासिन्दा नै नभएको उजाड़-स्थान बनाइदिनेछु, ताकि त्यहाँ कोही बस्न नपाओस्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society