यर्मिया 33 - नेपाली नयाँ संशोधित संस्करणपुनर्स्थापनको प्रतिज्ञा 1 गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: 2 “परमप्रभु यसो भन्नुहुन्छ: पृथ्वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो: 3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’। 4 किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई 5 बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्यसका सबै दुष्ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु। 6 “‘तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु। 7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्तै निर्माण गर्नेछु। 8 मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु। 9 तब यो सहर पृथ्वीका सबै जातिहरूका सामुन्ने मेरो निम्ति सुनाम, आनन्द, प्रशंसा र सम्मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्नतिका कुराहरू सुन्छन्, तब मैले यसलाई दिएको प्रशस्त सुख-शान्तिको कारण उनीहरू डराएर थरथर काम्नेछन्।’ 10 “परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्, 11 त्यहाँ आनन्दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” किनकि देशको सुख-शान्ति म फेरि अघिजस्तै तुल्याइदिनेछु,’ परमप्रभु भन्नुहुन्छ’। 12 “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘मानिस र पशुविनाको यस निर्जन ठाउँमा, र त्यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्। 13 पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्नुहुन्छ। 14 “परमप्रभु भन्नुहुन्छ, ‘ती दिन आउँदैछन्, जब इस्राएलका घराना र यहूदाका घरानालाई गरेको मेरो अनुग्रहसहितको प्रतिज्ञा म पूरा गर्नेछु। 15 ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन्। 16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनी यही नाउँले कहलाइनेछन्, “परमप्रभु हाम्रा धार्मिकता’।” 17 किनभने परमप्रभु यसो भन्नुहुन्छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्यै हुनेछैन, 18 न त मेरो निम्ति सधैँ नै होमबलि, अन्नबलि र बलिदान चढ़ाउनलाई लेवी पूजाहारीहरूमा मानिसको कमी हुनेछ’।” 19 परमप्रभुको वचन यर्मियाकहाँ आयो: 20 “परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँगको मेरो करार भङ्ग गराउन सक्यौ, र दिन र रात ठहराइएको आफ्नो समयमा तिनीहरू निस्केनन् भने, 21 मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्य गर्न अब उप्रान्त तिनको सन्तान हुनेछैन। 22 आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्तै म मेरो दास दाऊदका सन्तान र मेरो सेवा गर्ने लेवीहरूको संख्या बढ़ाउनेछु’।” 23 परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 24 “यी मानिसहरू के भन्दैछन्, के त्यसमा तैंले ध्यान दिएको छैनस्? यिनीहरू भन्छन्, ‘परमप्रभु आफैले चुन्नुभएका ती दुई राज्यहरूलाई उहाँले त्याग्नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्छन्। 25 परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि दिन र रातसम्बन्धी मेरो करार मैले स्थापित गरेको होइनँ भने, अनि स्वर्ग र पृथ्वीको विषयका मैले राखेका नियमहरू स्थायी होइनन् भने, 26 तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्तानहरूलाई इन्कार गर्नेछु, र त्यसको सन्तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्य गर्नलाई म चुन्नेछैनँ। किनकि म तिनीहरूको सुखशान्ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society