यर्मिया 25 - नेपाली नयाँ संशोधित संस्करणकैदका सत्तरी वर्ष 1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा, जो बेबिलोनका राजा नबूकदनेसरका राजकालको पहिलो वर्ष थियो, यहूदाका सबै मानिसहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो। 2 यसैले त्यही वचन यर्मिया अगमवक्ताले यहूदाका जम्मै मानिसहरू र यरूशलेममा बस्नेहरू सबैलाई भने: 3 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षदेखि आजको दिनसम्म— तेईस वर्षसम्म— परमप्रभुको वचन मकहाँ आएको छ, र मैले त्यो तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु, तर तिमीहरूले ध्यान दिएका छैनौ। 4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्यान दिएनौ। 5 तिनीहरूले भने, “तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्न पाउँछौ। 6 पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्सानी गर्नेछैनँ।” 7 “तर तिमीहरूले मेरो कुरामा ध्यानै दिएनौ, तर तिमीहरूका आफ्नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्सानी ल्याएका छौ,” परमप्रभु भन्नुहुन्छ। 8 यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा वचन ध्यानसित नसुनेका हुनाले, 9 म उत्तरका सबै मानिसहरूलाई र मेरो दास, बेबिलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ, “र म उनीहरूलाई यो देश र यसका बासिन्दाहरू र चारैतिरका सबै जातिहरूका विरुद्धमा ल्याउनेछु। म तिनीहरूलाई पूर्ण रूपले नाश गर्नेछु, र म तिनीहरूलाई भय र घृणा र अनन्तको विनाशको पात्र बनाउनेछु। 10 तिनीहरूबाट आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्यालो म उठाइलानेछु। 11 यो सारा देश निर्जन र उजाड़ हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन्। 12 “तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्यसका जाति, अर्थात् बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्ति उजाड़ पार्ने गरी दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ। 13 “मैले त्यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात् यस पुस्तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्यस देशमाथि ल्याउनेछु। 14 उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्याइनेछन्। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।” परमेश्वरका क्रोधको कचौरा 15 परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो: “मेरो हातबाट क्रोधको दाखमद्यले भरिएको यो कचौरा ले, र ती जम्मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, उनीहरूलाई त्यो पिउन लगा। 16 मैले उनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो पिएर उनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।” 17 यसैले मैले परमप्रभुको हातबाट त्यो कचौरा लिएँ, र ती जम्मै जातिहरू, जसकहाँ उहाँले मलाई पठाउनुभएको थियो उनीहरूलाई त्यो पिउन लगाएँ: 18 अर्थात् आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्यो पिउन लगाएँ। 19 त्यसबाहेक मिश्रदेशका राजा फारो र त्यसका सबै कर्मचारीहरूलाई, त्यसका अधिकारीहरू र त्यसका सबै प्रजालाई, 20 र त्यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्तीहरूका सबै राजाहरूलाई, (अश्कलोन, गाजा र एक्रोन, अनि अश्दोदका बाँचेकाहरूलाई), 21 एदोम, मोआब र अम्मोनलाई, 22 टुरोस र सीदोनका सबै राजाहरूलाई, समुद्र पारिका किनारका सबै राजाहरूलाई, 23 ददान, तेमा र बूज, र टाढ़ा-टाढ़ा ठाउँहरूमा बस्ने सबैलाई, 24 अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्ने विदेशीहरूका सबै राजाहरूलाई, 25 जिम्रीका, एलामका र मादीका सबै राजाहरूलाई, 26 र उत्तर दिशाका नजिक र टाढ़ा बस्ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्वीमा हुने सबै राज्यहरूलाई त्यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्यो पिउनेछ। 27 “तब तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: पिओ, मात र बान्ता गर, र फेरि कहिल्यै नउठ्ने गरी लोट। मैले तिमीहरूका बीचमा पठाउने तरवारको कारणले यो हुनेछ’। 28 तर यदि उनीहरूले तेरो हातबाट त्यो कचौरा पिउनलाई इन्कार गरे भने, तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले त्यो पिउनैपर्छ। 29 हेर, जुन सहर मेरो नाउँमा कहलिएको छ त्यसमाथि म विपत्ति ल्याउन लागेको छु, र के तिमीहरूचाहिँ दण्ड नपाई बाँच्नेछौ र? तिमीहरू दण्ड नपाई छोडिनेछैनौ, किनभने म पृथ्वीका सबै बासिन्दाहरूका विरुद्धमा एउटा तरवार खटाउनेछु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’। 30 “अब तैंले चाहिँ उनीहरूका विरुद्धमा यी सबै कुराको अगमवाणी कहेर उनीहरूलाई भन्, ‘परमप्रभु माथिबाट गर्जनुहुनेछ, आफ्नो पवित्र वासस्थानबाट उहाँ गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ! पृथ्वीमा बस्नेहरू सबैका विरुद्धमा, दाखमद्य कुल्चनेहरूजस्तै उहाँ चिच्च्याउनुहुनेछ। 31 हल्लाको प्रतिध्वनि पृथ्वीको पल्लो कुनासम्मै सुनिनेछ, किनभने पृथ्वीका जातिहरूका विरुद्धमा परमप्रभुले अभियोग लगाउनुहुनेछ, र उहाँले सबै मानिसहरूको न्याय गर्नुहुनेछ र दुष्टहरूलाई चाहिँ उहाँले तरवारले काट्नुहुनेछ’,” परमप्रभु भन्नुहुन्छ। 32 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिँदैजान्छ, पृथ्वीका कुना-कुनाबाट एउटा भयानक तूफान चल्दैछ।” 33 त्यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा— पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्। उनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्मा गर्नेछैन, न त गाड्नेछ। तिनीहरू जमिनमा मलजस्तै हुनेछन्। 34 विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्नेछौ, र भाँड़ाहरूजस्तै चूरचूर पारिनेछौ। 35 गोठालाहरूका निम्ति भाग्न कतै ठाउँ हुनेछैन, बगालका अगुवाहरूका निम्ति उम्कने ठाउँ हुनेछैन। 36 गोठालाहरूको रुवाइ सुन, बगालका अगुवाहरूको विलाप, किनकि परमप्रभुले तिनीहरूका खर्क नष्ट पार्दैहुनुहुन्छ। 37 परमप्रभुको भीषण क्रोधले गर्दा शान्तिमय खर्कहरू उजाड़ पारिनेछन्। 38 सिंहलेझैँ उहाँले आफ्नो ठाउँ छोड्नुहुनेछ, र अत्याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society