यर्मिया 24 - नेपाली नयाँ संशोधित संस्करणअञ्जीरका दुई डाला 1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो। 2 एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्तै खूब असल अञ्जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए। 3 तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?” मैले जवाफ दिएँ, “अञ्जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्।” 4 तब परमप्रभुको यो वचन मकहाँ आयो: 5 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यी राम्रा अञ्जीरहरूजस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु। 6 तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाइराख्नेछु, म तिनीहरूलाई भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु र तिनीहरूलाई उखेल्नेछैनँ। 7 म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु, किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्। 8 “‘तर,’ परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा अञ्जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्। 9 पृथ्वीका सारा राज्यहरूमा जहाँ म तिनीहरूलाई खेद्नेछु, त्यहाँ म तिनीहरूलाई घृणा र गिल्ला, तथा हाँसो र सरापको पात्र तुल्याउनेछु। 10 मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्ट नहोउञ्जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society