Online Bible

- Reklamy -

यर्मिया 21 - नेपाली नयाँ संशोधित संस्करण


सिदकियाहको बिन्तीको इन्कार

1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्‍कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,

2 “हाम्रा निम्‍ति अब परमप्रभुसित सोधिदिनुहोस्, किनभने बेबिलोनका राजा नबूकदनेसरले हामीलाई आक्रमण गर्दैछन्‌। शायद बितेको समयमा परमप्रभुले हाम्रा निम्‍ति आश्‍चर्यको काम गर्नुभएझैँ अहिले पनि गर्नुहोला, र यसरी उनी हामीबाट फिर्ता जानेछन्‌।”

3 तर यर्मियाले तिनीहरूलाई भने,

4 “तिमीहरूले सिदकियाहलाई भन, ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: लड़ाइँका जुन हतियारहरू तिमीहरूका हातमा छन्, र पर्खालका बाहिर तिमीहरूलाई घेर्ने बेबिलोनीहरू र बेबिलोनको राजाको विरुद्धमा जुन हतियारले तिमीहरू लड़ाइँ गर्छौ, ती म तिमीहरूकै विरुद्धमा चलाउनेछु। ती जम्‍मा गरेर म यस सहरभित्र ल्‍याउनेछु।

5 पसारिएको हात तथा बलियो पाखुराले क्रोध र भयानक रीसमा म आफै तिमीहरूसित लड़ाइँ गर्नेछु।

6 यस सहरमा बस्‍नेहरू, मानिसहरू र पशुहरू दुवैलाई म नाश गर्नेछु, र तिनीहरू भयानक रूढ़ीले मर्नेछन्‌।

7 परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यसपछि यहूदाको राजा सिदकियाह, त्‍यसका अधिकारीहरू रूढ़ी, तरवार र अनिकालबाट बाँचेका यस सहरमा हुने मानिसहरूलाई बेबिलोनको राजा नबूकदनेसर र तिनीहरूका ज्‍यान लिन खोज्‍ने शत्रुहरूका हातमा म सुम्‍पिदिनेछु। त्‍यसले तिनीहरूलाई तरवारले मार्नेछ, त्‍यसले तिनीहरूलाई न त दया न कृपा देखाउनेछ, न तिनीहरूमाथि टिठ्याउनेछ’।

8 “यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्‍युको बाटो राख्‍दैछु।

9 जो यस सहरमा रहन्‍छ, त्‍यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्‍केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्‍मसमर्पण गर्छ, त्‍यो बाँच्‍नेछ। त्‍यो आफ्‍नो प्राणसमेत उम्‍कनेछ।

10 मैले यस सहरलाई नोक्‍सान गर्न निश्‍चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्‍नुहुन्‍छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्‍यसले यसलाई आगाले भस्‍म गर्नेछ’।

11 “अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन,

12 हे दाऊदको घराना, परमप्रभु यसो भन्‍नुहुन्‍छ: “प्रत्‍येक बिहान न्‍याय गर, लुटिएकोलाई अत्‍याचार गर्नेको हातबाट छुटाओ, नत्रता तिमीहरूको कुकर्मको कारणले गर्दा, मेरो क्रोध आगोझैँ दन्‍कनेछ, कसैले निभाउन नसक्‍ने गरी त्‍यो दन्‍कनेछ।

13 म तेरो विरुद्धमा छु, हे यरूशलेम, यस उपत्‍यकाको मास्‍तिर बस्‍नेहरू हो, मैदानका समस्‍त ठाउँमा बस्‍ने हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरू जसले भन्‍छौ, ‘हाम्रा विरुद्धमा को आउन सक्‍छ र? हाम्रो शरणस्‍थानभित्र को पस्‍नसक्‍छ र?’

14 म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्‍ड दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ। म तिमीहरूका वनहरूमा आगो सल्‍काइदिनेछु, र त्‍यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्‍म गर्नेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy