यर्मिया 19 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर 2 बेनहिन्नोमको बेँसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्छु त्यो त्यहाँ सुना। 3 तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन, म यस ठाउँमा यस्तो सर्वनाश ल्याउनेछु जसले गर्दा त्यसको विषयमा सुन्नेहरू सबैका कान झनझनाउनेछन्। 4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्। 5 तिनीहरूले आफ्ना छोराहरूलाई बाल देवताको लागि आगोमा होमबलि चढ़ाउनलाई बाल देवताका अल्गा-अल्गा ठाउँहरू बनाएका छन्, जुन गर्नलाई मैले न त भनेको थिएँ न सोचेको थिएँ, न मेरो मनमा कहिल्यै यस्तो कुरो पसेको थियो। 6 यसैले होशियार रहो, यस्तो दिन आउँदैछ, परमप्रभु भन्नुहुन्छ, जब यो ठाउँ फेरि कहिल्यै मानिसहरूले तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्। 7 “‘यसै ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरूलाई निष्फल तुल्याइदिनेछु। तिनीहरूलाई आफ्ना शत्रुहरूका सामुन्ने तरवारले, र तिनीहरूका ज्यान लिन खोज्नेहरूका हातद्वारा मार्न लाउनेछु, र म तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहाराको निम्ति दिनेछु। 8 म यस सहरलाई भताभुङ्गै गरेर गिल्लाको पात्र तुल्याउनेछु। त्यसका सबै चोटहरू देखेर त्यसको छेउबाट भएर जानेहरू सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्। 9 तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूले लगाएको घेराको कष्टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’। 10 “तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्यो भाँड़ो फुटाइदिनू, 11 र तैंले तिनीहरूलाई यसो भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: जसरी कुमालेको यो भाँड़ो कहिल्यै नजोड़िने गरी फुटेको छ, त्यसरी नै म यस जाति र यस सहरलाई फुटाएर नाश गर्नेछु। लाश गाड्ने ठाउँ नसकिउञ्जेलसम्म मानिसहरूले तोपेतमा लाश गाड्नेछन्। 12 परमप्रभु भन्नुहुन्छ, म यस ठाउँ र यहाँ बस्नेहरूलाई त्यसै गर्नेछु। यस सहरलाई तोपेतजस्तै म तुल्याइदिनेछु। 13 यरूशलेमका घरहरू र यहूदाका राजाका घरहरू यो ठाउँ तोपेतजस्तै बिटुला पारिनेछन्— ती सबै घरहरू, जसका कौसीहरूमा आकाशका सारा ग्रह-नक्षत्रहरूका निम्ति तिनीहरूले धूप बाले र पराई देवताहरूका निम्ति अर्घ-बलि चढ़ाए’।” 14 तब यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई परमप्रभुले अगमवाणी कहनलाई पठाउनुभएको थियो, र परमप्रभुका मन्दिरको चोकमा खड़ा भएर सबै मानिसहरूलाई तिनले यसो भने, 15 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘ध्यानसित सुन। म यस सहरमा र यसका चारैतिरका गाउँहरूका विरुद्धमा मैले भनेका सबै सर्वनाश ल्याउनेछु, किनभने तिनीहरू ढीट भएर बसे, र मेरा वचन तिनीहरूले ध्यानसित सुनेनन्’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society