यर्मिया 16 - नेपाली नयाँ संशोधित संस्करणसर्वनाशको दिन 1 तब परमप्रभुको यो वचन मकहाँ आयो: 2 “यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्माउनुहुँदैन।” 3 किनकि यस देशमा जन्मेका छोराछोरीहरू र तिनीहरूलाई जन्माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ: 4 “तिनीहरू घातक रोगहरूले मर्नेछन्। तिनीहरूका लागि कसैले शोक गर्नेछैन, अथवा कसैले तिनीहरूलाई गाड्नेछैन। तिनीहरू भूइँमा कसिङ्गरझैँ लड़िरहनेछन्। तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन्, र तिनीहरूका लाश आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका लागि आहार हुनेछन्।” 5 किनकि परमप्रभु यसो भन्नुहुन्छ: “मृत्यु भएको घरमा मृत्यु-भोज खान नपस्, अथवा शोक गर्न वा सहानुभूति प्रकट गर्न त्यहाँ नजा, किनभने मैले यस जातिदेखि मेरो आशिष्, प्रेम र दया उठाइलगेको छु,” परमप्रभु भन्नुहुन्छ। 6 “ठूला-साना दुवै यस देशमा मर्नेछन्। तिनीहरू गाड़िनेछैनन्। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, आफ्नो शरीर काट्नेछैन, कपाल खौरनेछैन। 7 मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्त्वना दिन भनी कसैले उसको निम्ति खानेकुरो दिनेछैन, न सान्त्वनाको पानी दिइनेछ। 8 “भोज-भतेर भइरहेको घरमा तँ नपस् र तिनीहरूसित खान-पिउनलाई तँ नबस्। 9 किनकि सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तेरै आँखाको सामुन्ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्त्य गरिदिनेछु। 10 “जब तैंले यस जातिलाई यी सबै कुरा भन्छस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्तो ठूलो विपत्ति आओस् भनी खटाउनुभएको छ? हामीले के भूल गरेका छौं? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र?’ 11 तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्नुहुन्छ। “तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्था पालन गरेनन्। 12 तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्दा पनि बढ्ता दुष्ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्नो दुष्ट हृदयको हठीपनामा हिँड़िरहेका छौ। 13 यसैले न त तिमीहरूले न तिमीहरूका पिता-पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फालिदिनेछु। त्यहाँ तिमीहरूले रातदिन अरू देवताहरूको सेवा गर्नेछौ, किनकि म तिमीहरूमाथि मेरो निगाह राख्नेछैनँ’। 14 “तापनि,” परमप्रभु भन्नुहुन्छ, “दिन आउँदैछ, जब मानिसहरूले कहिल्यै यसो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। 15 तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु। 16 “तर अब म धेरै जालहारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई पक्रनेछन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँड़ा र पहराको धाँदोबाट खोजी-खोजी निकाल्नेछन्। 17 तिनीहरूका सबै चालमा मेरो दृष्टि पुगेको छ। ती मदेखि लुकेका छैनन्, न त तिनीहरूको पाप मेरो दृष्टिबाट लुकेको छ। 18 तिनीहरूको अधर्म र पापको निम्ति म तिनीहरूलाई दोबर दण्ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन्।” 19 हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्। 20 के मानिसहरूले आफ्नै देवदेवताहरू बनाउँछन्? हो, तर तिनीहरू त ईश्वरहरू होइनन्।” 21 “यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society