Online Bible

- Reklamy -

यर्मिया 14 - नेपाली नयाँ संशोधित संस्करण


खडेरी, अनिकाल, तरवार

1 खड़ेरीको विषयमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:

2 “यहूदा विलाप गर्छ, र त्‍यसका सहरहरू दुर्बल भएका छन्‌। तिनीहरू देशको निम्‍ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्‍म पुगेको छ।

3 त्‍यसका भारदारहरू आफ्‍ना नोकरहरूलाई पानी लिन पठाउँछन्‌। तिनीहरू कूवामा जान्‍छन्, तर पानी पाउँदैनन्‌। तिनीहरू आफ्‍ना भाँड़ाहरू रित्तै लिएर फर्कन्‍छन्‌। तिनीहरू हरेस खाएर र आत्तिएर आफ्‍ना टाउका ढाक्‍छन्‌।

4 देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्‍ना टाउका ढाक्‍छन्‌।

5 घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई छोड़ेर जान्‍छ।

6 वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्‍यालझैँ पानीको निम्‍ति हाँफ्‍छन्‌। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्‌।”

7 हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्‌। किनकि हाम्रो धर्म-त्‍याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।

8 हे इस्राएलको आशा, दु:खको बेलामा त्‍यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्‍तै हुनुहुन्‍छ? एक रातको निम्‍ति मात्र अड़िने यात्रीजस्‍तै किन हुनुहुन्‍छ?

9 आश्‍चर्यमा परेको मानिसझैँ तपाईं किन हुनुहुन्‍छ? बचाउन नसक्‍ने वीर पुरुषझैँ किन हुनुहुन्‍छ? हे परमप्रभु, तपाईं हाम्रा माझमा हुनुहुन्‍छ। हामी तपाईंकै नाउँले कहलाइएका हौं। हामीलाई नत्‍याग्‍नुहोस्‌!

10 यस प्रजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिनीहरू त बरालिएर हिँड्‌न साह्रै मन पराउँछन्‌। तिनीहरूले आफ्‍ना खुट्टालाई वशमा राख्‍दैनन्‌। यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्‍न। अब उहाँले तिनीहरूका अधर्मको सम्‍झना गर्नुहुनेछ, र तिनीहरूका पापको दण्‍ड तिनीहरूलाई दिनुहुनेछ।”

11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “यस जातिका भलाइको निम्‍ति प्रार्थना नगर्‌।

12 तिनीहरू उपवास बसे तापनि म तिनीहरूको दुहाई सुन्‍नेछैनँ। तिनीहरूले होमबलि र अन्‍नबलि चढ़ाए तापनि म यी ग्रहण गर्नेछैनँ। त्‍यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढ़ीले नाश गर्नेछु।”

13 तर मैले भनें, “परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले त तिनीहरूलाई भनिरहेछन्, ‘तिमीहरूले तरवार देख्‍नेछैनौ, अथवा तिमीहरूमा अनिकाल नै पर्नेछैन, र म तिमीहरूलाई यस ठाउँमा धेरै समयसम्‍म रहने शान्‍ति दिनेछु’।”

14 तब परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले त मेरो नाउँमा झूटा अगमवाणी कहिरहेछन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ, मैले तिनीहरूलाई नियुक्त गरेको होइनँ, अथवा म तिनीहरूसित बोलेको होइनँ। तिनीहरूले त तँलाई झूटा दर्शनहरू, मन्‍त्रतन्‍त्रहरू, मूर्तिपूजाहरू र आफ्‍नै मनका छकाउने कुराहरूका अगमवाणी कहन्‍छन्‌।

15 यसकारण ती अगमवक्ताहरूका विषयमा, जो मेरो नाउँमा अगमवाणी कहन्‍छन्, तिनीहरूका विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तापनि ‘तरवार र अनिकालले यस देशलाई छुनेछैन’ भनी तिनीहरू भन्‍दैछन्‌। तरवार र अनिकालद्वारा नै ती अगमवक्ताहरू नाश गरिनेछन्‌।

16 अनि तिनीहरूले अगमवाणी गरेका ती मानिसहरूचाहिँ तरवार र अनिकालको कारण यरूशलेमका गल्‍लीहरूमा फ्‍याँकिनेछन्‌। तिनीहरू, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड्‌ने कोही हुनेछैन। तिनीहरूले पाउनुपर्ने सङ्कष्‍ट म तिनीहरूमाथि नै खन्‍याउनेछु।

17 “तैंले तिनीहरूलाई यो कुरा भन्‌: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्‌। त्‍यो बग्‍न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्‍ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्‍यसले पाएकी छ।

18 यदि म देशमा गएँ भने त्‍यहाँ तरवारले मारिएकाहरू देख्‍छु। यदि म सहरमा पसें भने त्‍यहाँ अनिकालले पीडित भएकाहरू देख्‍छु। अगमवक्ता र पूजाहारी दुवै तिनीहरूले नजानेको देशमा गएका छन्‌’।”

19 के तपाईंले यहूदालाई बिलकुलै त्‍याग्‍नुभएको छ? के तपाईंले सियोनलाई घृणा गर्नुहुन्‍छ? तपाईंले हामीलाई निको नहुने गरी किन दु:ख दिनुभयो? हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर त्रास पो आइलाग्‍छ!

20 हे परमप्रभु, हामी आफ्‍नो दुष्‍ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्‍वीकार गर्दछौं। साँच्‍ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।

21 तपाईंका नाउँको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्‌। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्‌। हामीसित गर्नुभएको आफ्‍नो करारको सम्‍झना गर्नुहोस्, र त्‍यो भङ्ग नगर्नुहोस्‌।

22 जाति-जातिहरूका व्‍यर्थका देवताहरूमध्‍ये कसैले वर्षा ल्‍याउन सक्‍छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्‍छ? हे परमप्रभु हाम्रा परमेश्‍वर, त्‍यो गर्ने त तपाईं नै हुनुहुन्‍छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्‍दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy