Online Bible

- Reklamy -

यर्मिया 13 - नेपाली नयाँ संशोधित संस्करण


सूती पटुका

1 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “गएर एउटा सूती पटुका किन्, र त्‍यो तेरो कम्‍मरमा बाँध्‌, तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”

2 यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्‍नो कम्‍मरमा बेह्रें।

3 फेरि दोस्रो पल्‍ट परमप्रभुको यो वचन मकहाँ आयो:

4 “उठ्, तैंले किनेको तेरो कम्‍मरमा बाँधेको पटुका लिएर अब परातमा जा, र पहरामा भएको धाँदोभित्र त्‍यो लुकाइराख्‌।”

5 यसैले परमप्रभुले मलाई भन्‍नुभएअनुसार गएर परातमा मैले त्‍यो लुकाइराखें।

6 धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, परातमा जा, र त्‍यहाँबाट त्‍यो पटुका ले, जो मैले तँलाई त्‍यहाँ लुकाइराख्‍नलाई भनेको थिएँ।”

7 तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्‍यो पटुका खनेर निकालें। तर अब त्‍यो पटुका त पूरै मकिएछ। त्‍यो पूर्ण रूपले बेकामको भएछ।

8 तब परमप्रभुको यो वचन मकहाँ आयो:

9 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यसरी नै यहूदाको अहङ्कार र यरूशलेमको ठूलो शेखी म झारिदिनेछु।

10 यी दुष्‍ट मानिसहरू, जसले मेरो वचन सुन्‍न इन्‍कार गर्छन्, जसले आ-आफ्‍नो हृदयमा अटेरी गरेर अन्‍य देवताहरूको सेवा र पूजा गर्न जान्‍छन्, तिनीहरू यही पटुकाजस्‍तै हुनेछन्, जो पूरै बेकामको भएको छ!

11 किनभने जसरी एउटा पटुका मानिसको कम्‍मरमा कसिएको हुन्‍छ, त्‍यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो ख्‍याति र प्रशंसा सम्‍मानको निम्‍ति मेरा प्रजा होऊन्‌ भनेर मैले बाँधे। तर तिनीहरूले मेरा कुरामा ध्‍यानै दिएका छैनन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।


छालाका मशकहरू

12 “तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हरेक मशक दाखमद्यले भरिनुपर्छ’। ‘के हरेक मशक दाखमद्यले भरिनुपर्छ भनी हामीलाई थाहा छैन र?’ भनी यदि तिनीहरूले तँलाई भने भने,

13 तब तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यस देशमा बस्‍ने सबैलाई, दाऊदको राजगद्दीमा बस्‍ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्‍ने सबैलाई मत्त्याइदिनेछु।

14 तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्‍नुहुन्‍छ।”


कैदमा लगिने धम्‍की

15 सुन, ध्‍यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्‍नुभएको छ।

16 उहाँले अन्‍धकार ल्‍याउन अघि नै, साँझको अँध्‍यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्‍न अघि नै परमप्रभु आफ्‍ना परमेश्‍वरलाई महिमा देओ। तिमीहरूले उज्‍यालोको आशा गर्छौ, तर उहाँले त्‍यसलाई अँध्‍यारोमा परिणत गरेर घोर अन्‍धकार बनाउनुहुनेछ।

17 तर तिमीहरूले ध्‍यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्‍डको कारण म गुप्‍तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्‍नेछ।

18 राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्‌।”

19 नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्‍मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ।

20 आफ्‍ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्‌। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्‍ड गरेको बगाल कहाँ छ?

21 आफ्‍ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्‍वरले खटाउनुहुन्‍छ, तब तैंले के भन्‍नेछस्‌? के प्रसववेदनामा परेकी स्‍त्रीझैँ तँलाई पीडा हुनेछैन?

22 अनि “यस्‍ता कुरा किन ममाथि आइलाग्‍यो” भनेर तैंले मनमा भन्‍छस्‌— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्‍यातियो, र तेरो शरीरमाथि कुव्‍यवहार गरियो।

23 के कूशीले आफ्‍नो छालाको रङ्ग बद्‌लन सक्‍छ र? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‌लन सक्‍छ र? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ।

24 “मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु।

25 तेरो हिस्‍सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्‌।

26 म तेरो फरिया तेरो मुखसम्‍मै उचालिदिनेछु, र यसरी तेरो लाज देखिनेछ।

27 तैंले डाँड़ाहरू र मैदानहरूमा गरेका तेरा घिनलाग्‍दा कामहरू— तेरो व्‍यभिचार, तेरो कामोद्दीपनको हिनहिनाइ, तेरो लाजमर्दो वेश्‍यावृत्ति मैले देखेको छु। हे यरूशलेम, तँलाई धिक्‍कार! तँ कहिलेसम्‍म यसरी अशुद्ध बस्‍ने?”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy